‘पार्टीको यात्रामा तगारो हाल्छन् भने पन्छाउन एमाले सक्षम छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘पार्टीको यात्रामा तगारो हाल्छन् भने पन्छाउन एमाले सक्षम छ’ (भिडिओ)

एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्- प्रक्रियाबाट प्रदेशको नाम फेर्ने कुरामा हामी असहयोगी छैनौं

विराटनगर । नेकपा एमाले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा छ । मध्य पहाडको समस्या पहिचान, बसाइसराइ रोकथामका उपाय र मध्य पहाडको समृद्धिका आधारहरू पहिचान गर्न सङ्कल्प यात्रा सुरु गरेको एमालेले जनाएको छ ।

बैतडीको झुलाघाटबाट सुरु सङ्कल्प यात्रा यही मङ्सिर २६ गते कोशी प्रदेशमा प्रवेश गर्नेछ । कोशी प्रदेशको नामकरणपछि असन्तुष्ट पहिचानवादीहरूले एमालेको सङ्कल्प यात्रामा अवरोध गर्ने गरी बन्द हड्तालका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले एमालेको सङ्कल्प यात्रालाई रोक्ने चेतावनी दिइरहँदा सम्भावित मुठभेड र झडप रोक्नेलगायतका एमाले कोशी प्रदेशको तयारीबारे प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग नेपाल प्रेसकर्मी सुमन पुरीले गरेको कुराकानी नेपाल टकमा:

– एमाले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा छ । कोशी प्रदेशमा यात्राको तयारी कस्तो छ ?

मङ्सिर १४ गतेबाट समृद्धिका लागि सङ्कल्प यात्रा झुलाघाटबाट सुरु गरेका छौं । त्यो अनवरत रूपमा अगाडि बढिरहेको छ । कोशी प्रदेशको घुर्मीमा यो यात्रा मङ्सिर २६ गते बिहान आइपुग्नेछ । जसअनुसार हामी उदयपुरको घुर्मीमा सङ्कल्प यात्रालाई मङ्सिर २६ गते ११ बजे स्वागत गर्ने कार्य तालिका छ । त्यसै दिन ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बु र खोटाङको व्यवस्थापनमा घुर्मीको टोक्सेलमा आमसभा गर्दैछौं । त्यो जनसभामा उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट सहभागी हुन आउनेछन् । त्यो यात्रामा सहभागी त्यस दिन खोटाङको दिक्तेल बजारमा बस्नेछन् ।

मंसिर २७ गते बिहान खोटाङमा कोणसभा हुनेछ । सोही दिन भोजपुर र खोटाङको सिमाना चखेवामा आइपुग्नेछ । चखेवामा भोजपुरका नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नेछन् । त्यो दिन भोजपुरका नेता तथा कार्यकर्ताहरूले अन्नपूर्णलगायतका क्षेत्रमा कार्यक्रम हुनेछन् । यी सबै कार्यक्रम मध्यपहाडी मार्ग केन्द्रित हुनेछन् र त्यो यात्रा ३ बजे भोजपुर बजारमा आइपुग्नेछ । यात्राका क्रममा त्यहाँका उद्योगी व्यवसायीका समस्या सुन्नेछौं, सर्वसाधारणका गुनासा सुन्नेछौं । समस्याहरूको पहिचान गरी सम्बोधनका लागि योजना र खाका निर्माण गर्नेछौं । जनताको जीवनस्तर कस्तो छ ? बसाइसराइको दर तीव्र छ । यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा हामी छलफल गर्नेछौं । थप विकास निर्माणका योजना के लान सकिन्छ भनेर अन्तरक्रिया गर्दै त्यो यात्रा त्यस दिन भोजपुरमा स्थगित हुनेछ । हामीले यो यात्राका क्रममा पहाडको समृद्धि केमा छ भनेर चिवा भञ्ज्याङसम्म खोज अनुसन्धान गर्नेछौं ।

– यसको व्यवस्थापन कसरी भइरहेको छ ?

हामीले यात्रामा सहभागीहरूलाई कहाँ कहाँ राख्न सकिन्छ, कार्यक्रमहरू कसरी गर्ने, को कोसँग भेट्ने भन्नेबारेमा नेकपा एमाले कोशी प्रदेशले तयारी गरिरहेको छ । भोजपुरबाट २८ गते बिहान पौवादुम्वा गाविस तिवारी भञ्ज्याङमा भेटघाट कार्यक्रम गर्नेछौं । जनतालाई बाटोमा निस्कन र स्वागत गर्न आह्वान गरेका छौं । २८ गते बिहान १० बजे हामी धनकुटाको पाख्रिबास आइपुग्नेछौं । सोही दिन तेह्रथुमको वसन्तपुरमा आमसभा गर्नेछौं । आमसभामा सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसमेतको सहभागिता हुनेछ । त्यो दिनको बास वसन्तपुरमा हुनेछ ।

मंसिर २९ गते वसन्तपुरको म्याङलुङ हुँदै सङ्क्रान्ति बजारमा यात्रा पुग्नेछ । त्यहाँ कोणसभा गर्दै आठराईमा यात्रा बास बस्नेछ । भोलिपल्ट फिदिममा आमसभा राखिएको छ । सो सभामा ताप्लेजुङ, इलाम, पाँचथर र झापाबाट सहभागी हुनेछन् । यो सभा लोकमार्ग केन्द्रित अन्तिम जनसभा हुनेछ । सो दिन यात्रामा सहभागीहरू फिदिममै बस्नेछन् । भोलिपल्ट पुस १ गते जोर पोखरी हुँदै च्याङथापुमा सङ्कल्प यात्रा पुग्नेछ । च्याङथापुमा ताप्लेजुङका नेता तथा कार्यकर्ताहरूले भेटघाटको कार्यक्रम राखेका छन् । याङबारक कमिटीले सो कार्यक्रम आयोजना गर्नेछ । त्यो कार्यक्रम सकिएपछि नेपाल र सिक्किमको सिमाना चिवा भञ्ज्याङमा यात्रा पुग्नेछ ।

चिवा भञ्ज्याङमा नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा स्तम्भ राख्ने तयारी छ । त्यहाँ पार्क निर्माण गरी नेकपाका संस्थापक पुष्पलालको सालिक बनाउने एमालेको योजना छ । सो योजनाअनुसार त्यहाँ सालिक र पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । चिवा भञ्ज्याङ पुष्पलाल मध्यपहाडी मार्गको सुरुवात बिन्दु भएकाले पुष्पलालको सालिक निर्माण गर्न शिलान्यास गरेर यो यात्राको अन्त्य गर्ने योजना प्रदेश कमिटीले बनाएको छ ।

– अभियानमा कति नेता कार्यकर्ता सहभागी हुन्छन् ?

हामीले मध्यहाडी पुष्पलाल लोकमार्ग आसपासका जनतालाई नै यो अभियानमा सहभागी गराउनेछौं । यो कार्यक्रमको आधार पनि यही हो । यसका अतिरिक्त सभाहरूमा भने यस प्रदेशका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । घुर्मीको सभामा उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट सहभागिता हुनेछ । बसन्तुरको सभामा सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी र मोरङबाट सहभागिता हुनेछ । फिदिमको सभामा भने ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट पनि सहभागिता हुनेछ । यीबाहेक अन्यत्र भएका कोणसभा र भेटघाटमा भने त्यहीका आम सर्वसाधारण र कार्यकर्ताको सहभागिता हुनेछ ।

– नेकपा एमालेले यो यात्रा सुरु गरेसँगै कोशी प्रदेशमा पहिचानवादीहरूले अवरोध गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरेका छन् । बन्दको कार्यक्रमसमेत घोषणा भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रमा आधारित पार्टी हो । लोकतन्त्रमा आफ्ना अभिव्यक्ति सबैले राख्न र दिन पाउँछन् । संविधान र कानूनसम्मत ढङ्गले आफ्ना अभिव्यक्ति दिन पाइन्छ । यी कुरालाई नेकपा एमालेले सहज रूपमै लिएको छ । तर, कसैको सभा सम्मेलन भाँडदिन्छम्, ढुङ्गा हान्छौं, बिथोल्दिन्छौं भन्न लोकतन्त्रमा पाइन्न । यो गलत कुरा । यस्ता कुराको पछि नेकपा एमाले लाग्दैन ।

हाम्रो कार्यक्रम पूर्वनिर्धारित हो । हामीले दुई महिना अगाडि यो कार्यक्रमको बारेमा जानकारी गराएका छौं । यसलाई सरकारले पनि शान्ति सुरक्षा प्रदान गर्ला । नेकपा एमाले आफैंमा पनि आफ्नो कार्यक्रम सफल बनाउन सक्षम छ । हामी आत्मगत शक्ति र स्वयंसेवक पनि राम्रै ढङ्गले परिचालन गर्छौं । हामी कसैसँग पनि निहुँ खोज्न र चलाउन गएका छैनौं । हामीले हाम्रा कार्यक्रम राखेका हौं ।

हामीले कसैलाई चलाउन र जिस्काउन कार्यक्रम राखेको होइन, हाम्रो लक्ष्य पनि होइन । नेकपा एमालेको कार्यक्रम बिथोल्न, अवरोध गर्न कोही आउँछ र तगारो बन्छ भने त्यसलाई पन्छाएर हिँड्न नेकपा एमाले सक्षम छ । हामीलाई तगारो हटाउन राम्रोसँग आउँछ । हामी संवैधानिक कानूनी राज्यभित्र छौं । संवैधानिक र कानूनी राज्यभित्र अर्काको कार्यक्रम भाँड्न आउने कुरा गलत हो । बलपूर्वक विथोल्न आउने कुरा अत्यन्त गलत भए पनि हामी वार्ता र संवादका लागि पनि तयार छौं ।

यात्राकै क्रममा पनि असन्तुष्टिका बारेमा छलफल गर्न, कुराकानी गर्न र समस्या समाधान गर्न तयार छौं । लोकतान्त्रिक मूल्य मान्यताका आधारमा आफ्ना विरोधका कार्यक्रम राख्न असन्तुष्ट समूहसँग आग्रह गर्छौं । नेपालको संविधान सबैले मानेका छौं । त्यही संविधानभित्रबाट आफ्ना हक अधिकार खोज्न पनि हामी आग्रह गर्छौं । संविधान र कानूनबाटै समस्याको निकास खोजौं । वार्ता र संवादबाट समस्याको हल खोज्न हामी तयार छौं ।

– प्रदेशको नाम कोशी राखिएपछि यसको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरूलाई प्रवेश निषेधलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक भएको छ । आन्दोलन चलिरहेको छ । यो थाहा पाउँदापाउँदै पनि एमालेले जोरी खोज्ने हिसाबले यो कार्यक्रम राख्यो भन्नेहरू पनि छन् नि ?

यो सर्वथा गलत कुरा हो । ८६ जना प्रदेशसभा सदस्य अहिले पनि आफ्नो कर्मथलोमा गएर काम गरिरहेका छन् । निर्वाचन क्षेत्रमा, जिल्लामा उहाँहरू गइरहनु भएकै छ । खटिइरहनु भएकै छ । प्रदेशसभा सदस्यहरूले जे नाम राख्नुभयो, त्यो प्रक्रियाबाटै नाम राख्नुभएको हो । त्यो प्रक्रियाबाटै समस्याको समाधान खोज्न म आन्दोलनरत पक्षसँग आग्रह गर्छु । प्रक्रिया मिचेर जबरजस्ती प्रदेशको नामकरण भएको होइन । उहाँहरूलाई प्रक्रियाबाट प्रदेशको नाम फेर्न नेकपा एमाले आग्रह गर्छ । हामी प्रक्रियाबाट नाम फेर्ने कुरामा असहयोगी छैनौं, सहयोग गर्छौं ।

तर, विधि र प्रक्रियाबाट राखिएको नामलाई लिएर विधि र कानून मिच्न खोज्नेहरूलाई एमाले चुप लागेर आफ्ना कार्यक्रम र गतिविधि नै गर्नुहुँदैन भन्ने पक्षमा छैन । लोकतन्त्रमा विश्वास गर्नेहरूले लोकतान्त्रिक पद्धतिबाटै प्रदेशको नाम फेर्न म फेरि पनि आग्रह गर्छु । अहिले बेकारमा नेकपा एमालेले आफ्ना गतिविधि र कार्यक्रम अगाडि बढाइरहँदा पार्टीविरोधी तत्त्वहरूले यहाँ घुसपैठ गरेका छन् भन्ने एमालेको विश्लेषण छ । अहिले नेकपा एमालेका चरम विरोधीहरूले आफ्नो हक अधिकार खोज्ने समुदायलाई दिग्भ्रमित पार्ने काम गरेका छन् । यसतर्फ सचेत रहन सबैमा म आग्रह गर्छु ।

पार्टीको कार्यक्रम भाँड्न आउने, ढुङ्गा हान्न आउने त्यो चरम नेकपा एमालेविरोधी काम हो । प्रदेशसभा सदस्यलाई कालोमोसो दल्ने कुनै लोकतान्त्रिक कुरा हो र ? त्यो सांसदलाई अर्को पटक चुनावमा हराए भयो नि ! जित्न नदिए भयो नि ! मुद्दा उठान गरेर जाने, जनतासँग अपिल गर्ने जनताको व्यालेटमाथि विश्वास गरेर सबै जानुपर्छ । त्यो कानूनी र संवैधानिक पाटो हुँदाहुँदै यहाँ पस्न दिँदैनौं, कालोमसो दल्छौं भन्न पाइन्न । काटिदिन्छौं, मारिदिन्छौं भन्नु यो लोकतान्त्रिक कुरा होइन, यो सुहाउने कुरा होइन । यस्ता कुराको पछि नेकपा एमाले लाग्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर