वडाध्यक्षसहित मित्रमिलन सहकारीका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन प्रहरीको आग्रह – Nepal Press

वडाध्यक्षसहित मित्रमिलन सहकारीका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन प्रहरीको आग्रह

पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा सहकारीका ३० जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीको आरोपमा सञ्चालक समिति सदस्यसहित ३० जनाविरुद्ध सोमबार अदालतबाट पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएकाहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीसहित सहकारीका सञ्चालक समितिका सम्पूणर् पदाधिकारी, लेखा समितिका सदस्यहरु, पूर्व लेखासमितिका संलग्न देखिएका सदस्यका कानूनी सल्लाहकारसमेत छन् ।

सहकारी रजिस्ट्रार कार्यालयले समन्वय गरी संस्थाको स्थापना कालदेखि हालसम्मको आर्थिक कारोबारको अध्ययन गरी ‘वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धमा देखिएका कैफियतउपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदन २०८०’ तयार गरी केही दिन अघि प्रहरीलाई बुझाएको थियो । प्रतिवेदनमा २६ करोड हाराहारीमा हिनामिना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रतिवेदनमा सहकारी हिनामिनामा संलग्न रहेका २० जनाको नाम तोकेर प्रहरीलाई बुझाएको थियो ।

बचतकर्ताको निवेदनपछि एक चार्टर्ड एकाउटेन्ट नियुक्त गरी संस्थाको स्थापना कालदेखि हालसम्मको आर्थिक कारोबारको अध्ययन गरी ‘वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धमा देखिएका कैफियतउपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदन २०८०’ तयार गरेर प्रहरीलाई बुझाएको सहकारी रजिस्ट्रार कार्यालय गण्डकीकी निमित्त प्रमुख ईश्वरी ढकालले बताइन् ।

मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरु प्रहरीले कात्तिक ४ गते पक्राउ गरिएको हो ।

बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो । उनीहरुविरुद्ध बैकिङ मुद्धामा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीको आग्रह

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध जाहेरी दिन बचतकर्तालाई जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ । प्रहरीले मंगलबार सूचना जारी गर्दै सहकारीबाट बचत रकम फिर्ता नपाएका र जाहेरी दरखास्त दिन बाँकी बचतकर्ताहरुलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने कागजातसहित जाहेरी दिन आग्रह गरेको हो ।

सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना एबं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतकर्ताहरुले कार्यालयमा सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त पेश भएकोले उक्त जाहेरी दरखास्त दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर