नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने – Nepal Press

नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको बहस सकिएको छ ।

तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रूकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको बहस मंगलबार सकिएको हो ।

मंगलबार दिउँसोसम्ममा २-२ जना जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिलसहित २४ जनाले बहस गरेका छन् । वादी र प्रतिवादी दुवै पक्षका वकिलको बहस सकिएको पीडित पक्षको तर्फबाट बहस गरेकी अधिवक्ता कुञ्जनी परियारले नेपाल प्रेसलाई जानकारी दिइन् ।

‘पक्ष र विपक्ष दुवैतर्फका वकिलको बहस सकिएको छ । अब फैसला कुरिरहेका छौं’, उनले भनिन्, ‘सम्भवतः आज साँझसम्म फैसला आउनसक्छ ।’

नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी- ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलिरहेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् । २३ जना पुर्पक्षका लागि जेलमा छन् ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।

घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।

घटनाबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । समितिले प्रतिवेदन पेश गरे पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । संसदीय छानबिन समितिले सोती घटनामा योजनाबद्ध रूपमा हत्या भएको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *