भन्टाको उचित मूल्य नआएपछि पशुलाई खुवाउँदै मनहरीका किसान – Nepal Press

भन्टाको उचित मूल्य नआएपछि पशुलाई खुवाउँदै मनहरीका किसान

हेटौँडा । पश्चिम मकवानपुरस्थित रमौली प्रतापपुरका किसानहरु यतिबेला आफुले उत्पादन गरेर बजार लैजान ठिक्क परेका ‘भन्टा’ गाई भैंसीलाई आहाराको रुपमा दिन थालेका छन् ।

महिनौ लगाएर उत्पादन गरेको भन्टाले बजार निकै न्यून बजार मूल्य पनि नपाएपछि किसानहरुले उत्पादित भन्टा तथा सिमीलाई पशुहरुको आहारको रुपमा प्रयोगमा ल्याएका छन् ।

मनहरी गाउँपालिकाको वडा नंबर ६ र ७ मा करिब ५० बिगाहा जमिनमा उत्पादन भएका भन्टा, सिमि लगाएतको तारकारीले बजार नपाएपछि किसानहरुले बाध्य भएर आफ्नो बारीमा उत्पादन भएको उत्पादन पशु आहारा बनाउन परेको बताउँछन् ।

नेपाल प्रेससँग कुरा गर्दै तरकारी उत्पादन गर्दै आएका स्थानीय ब्यवसायी उमेश राईले अहिले भन्टाको मूल्य प्रति किलो ५ रुपैँया पनि नआएको कारण किसानहरुले वाध्य भएर उत्पादित तरकारीलाई पशु आहारा बनाउनुपरेको बताए ।

भन्टा रोपेदेखि उत्पादन हुँदासम्म लाखौँ खर्च हुन्छ तर बेच्ने बेलामा विउ किन्दाको रकम समेत नउठने भएपछि किसानहरुले बाध्य भएर आफ्नो गोठको वस्तुभाउलाई तरकारी खुवाउन वाध्य भएको उनको भनाई रहेको छ । यस अघिका वर्षहरुमा बजार भाउ यसरी ओरालो लागेको आफुले नदेखेको भन्दै उनले यो वर्ष किसानहरुलाई असाध्यै पिडा भएको बताए ।

मकवानपुरमा उत्तरी मकवानपुरको थाहा नगरपालिकापछि सबैभन्दा धेरै तरकारी उत्पादन हुने स्थानीय तहमा मनहरीको नाम आउँछ । यहाँको प्रतापुर, रमौली, हाँडिखोला क्षेत्र तरकारी जोनको रुपमा परिचित छ ।

तर किसानहरुले वर्षभरीको खर्च टार्नको लागि उत्पादन गरेको तरकारीले रोप्दा किनेको बिउको मूल्य समेत नपाउने अवस्था भएपछि आफुहरुलाई ठुलो चोट पुगको मनहरीका अगुवा किसान कृष्ण राईले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘एक किलो भन्टालाई रोपेर उत्पादन गर्दासम्म राम्रो उत्पादन भएको अवस्थामा किसानको ८ देखि १० रुपैँयासम्म पर्न आउँछ, तर अहिले खर्च भन्दा आधा मुल्य कमिमा पनि मूल्य नआउने देखिएको छ, यो निकै दुखको विषय हो ।’

भारतबाट निर्वाद आउने तरकारीलाई नियन्त्रण गर्न नसक्दा यहाँ स्थानीय स्तरमा उत्पादन भएको तरकारीले बजार भाउ नपाएको उनको अडकल छ ।

उनले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले किसानलाई तरकारी उत्पादन गर भनेर मात्र भएन नि, बजार पनि हेर्दिनु पर्छ नि, भारतबार नियमित ट्रकका ट्रक तरकारी आउँदा यहाँका किसान सधै मारमा परेको छ, यो विषयको ध्यान सरकारले दिनुपर्छ कि पर्दैन ?’ किसानहरुको समस्याबारे स्थानीय सरकारले पनि कुनै कदम नचालेको उनको भनाई रहेको छ ।

यतिबेला रमौली प्रतापपुर क्षेत्रमा भन्टाको साथै सिमि, खुर्सानी लगाएतको तरकारीहरु उत्पादन भएका छन् । तर उचित मूल्यको आशमा उनिहरुले उत्पादन गरेको तरकारी कुहिने अवस्थामा पुगेको किसानहरुको भनाई रहेको छ ।

मनहरीका किसानले उत्पादन गरेको तरकारीको बजार हेटौँडा, चितवन तथा काठमाण्डौँ हो । तर त्यहा भारतीय तरकारीहरु ट्रकका ट्रक आउँदा मनहरीका किसान भने उत्पादित तरकारी पशु चौपायलाई दिन वाध्य बनेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर