कमजोरी सुधार्ने मुख्यमन्त्रीको प्रतिवद्धतापछि खर्च कटौती प्रस्ताव फिर्ता, बजेट प्रतिस्थापन विधेयक पास – Nepal Press
कोशी प्रदेश

कमजोरी सुधार्ने मुख्यमन्त्रीको प्रतिवद्धतापछि खर्च कटौती प्रस्ताव फिर्ता, बजेट प्रतिस्थापन विधेयक पास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यले संसद् सचिवालयमा दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका छन् ।
एमाले र राप्रपाका ८ जना प्रदेशसभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विधेयकमा योजनाहरू मनलाग्दी काटछाँट गरेको भन्दै कांग्रेसकै सांसदले विरोध गरेका थिए । एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए ।

विधेयकको विषयमा सदनमा छलफल चलिरहँदा आज ८ जना प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावका विषयमा मुख्यमन्त्री कार्कीले जवाफ दिँदै नेकपा एमाले सदनको ‘ठूलो घर भएको र उसको ठूलै चाला’ भएको भन्दै एमालेको तर्फबाट खर्च कटौती प्रस्ताव आएको टीप्पणी गरे । खर्च कटौती प्रस्ताव औपचारिकताको लागि मात्र आएको उनको जिकिर थियो ।

कहीँ न्यायको नाममा बढी बजेट भएको हुनसक्ने, कहीँ अन्याय नै भएको पनि हुनसक्ने भए त्यस्तो अवस्थामा त्यस्ता गल्ती कमजोरी आफूले सुधार गरेर जाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

सांसदहरू रेवती रमण भण्डारी, विदुर लिङ्थेप, किशोरचन्द्र दुलाल, तीलचन्द पाठक, कमला दर्नाल, निरन राई, भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री कार्कीले खर्च कटौतीको प्रस्तावमा फिर्ता लिन आग्रह गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर