कांग्रेसमा हिन्दू राष्ट्रको बहस चर्किँदै, देउवाको अभिव्यक्ति कति अर्थपूर्ण ? – Nepal Press

कांग्रेसमा हिन्दू राष्ट्रको बहस चर्किँदै, देउवाको अभिव्यक्ति कति अर्थपूर्ण ?

काठमाडौं । नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमा ढल्किन लागेको चर्चाले बजार तताउन थालेको छ । सभापति शेरबहादुर देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएपछि धेरैका कान ठाडा भएका छन् ।

पार्टीको महासमिति बैठकको तयारी भइरहेको बेला हिन्दू राष्ट्रको बहस कांग्रेसमा गर्माएको हो । मंगलबार नवलपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा नफर्किने दाबी गरे । तर, हिन्दू राष्ट्रको विषयमा छलफल गर्न सकिने अर्थपूर्ण अभिव्यक्ति दिए ।

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन । संघीयता र गणतन्त्रविरुद्धका कुनै पनि गतिविधि स्वीकार्य हुँदैन । धर्मको विषयमा मान्छेहरुले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाको भनाइ थियो ।

देउवाले धर्मनिरपेक्षता खारेजीको पक्षमा रहेको संकेत यसअघि पनि गरेका थिए । गत कार्तिक २१ गतेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको १२बुँदे पक्षधरको बैठकमा उनले धर्मनिरपेक्षताको विषयमा फरक भनाइ राखे ।

देउवाले भनेका थिए, ‘हामीले राजतन्त्र त्यागिसकेकाले अब त्यता फर्किंदैनौं । हामी हिन्दू राज्यकै पक्षमा थियौं । तर, पछाडि धर्म निरपेक्षता स्वीकार्‍यौं ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा भने पार्टी धर्मनिरपेक्षताबाट पछि नहट्ने बताउँछन् ।

उनी भन्छन्, ‘नवलपरासीका सन्दर्भमा सभापतिले हिन्दू राष्ट्रको पक्षमा केही कुराहरु उठेका छन्, त्यो छलफल नै चलिराखेको भन्नुभएको हो । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको पक्षमा कांग्रेस प्रतिबद्ध छ । कसैले भन्दैमा यो हट्नेवाला छैन । हामी यसका बारेमा दृढ छौं ।’

उनले महासमितिको बैठकमा संविधानको प्रस्तावनाभन्दा बाहिर गएर कुनै प्रस्ताव नआउने दाबी गरे ।

विश्वकर्माले भने, ‘संविधानमा भएको विशेषता र प्रस्तावनाभन्दा बाहिर कांग्रेसको महासमितिको बैठकमा कुनै प्रस्ताव आउँदैन । संविधानको खिलापमा हुने खालका, संविधानमा भएका प्रावधानलाई पुनर्विचार गर्नेगरी कुनै पनि प्रस्ताव पार्टीको तर्फबाट आउँदैन ।’

नेताहरुले केन्द्रीय समितिको बैठकमा झैं महासमितिको बैठकमा पनि नेताहरुलाई आफ्नो मत राख्न छुट भएकाले प्रस्ताव आउनसक्ने उनको भनाइ छ ।

यस्तै अर्का केन्द्रीय सदस्य मधु आचार्यले हिन्दू राष्ट्रको विषय महासमितिको बैठकमा उठ्ने बताए । उनले भने, ‘अघिल्लो महासमितिको बैठकमा पनि ६-७ सय सदस्यले हस्ताक्षर गरेर बुझाएको हो । त्यसबारे औपचारिक रुपमा छलफल भएन । हिन्दू राष्ट्रको विषयमा यो पटक पनि बैठकमा आवाज उठ्छ ।’

कांग्रेसमा हिन्दू राष्ट्रको एजेण्डाको पक्षमा उभिएका नेता शंकर भण्डारी सभापति देउवाले देशको दूर भविष्यलाई आत्मसात गरेरै यो मुद्दाको पक्षमा बोलेको हुनसक्ने बताउँछन् ।

उनी भन्छन्, ‘उहाँ (देउवा)ले देशको दूर भविष्यलाई आत्मसात गरेरै त्यो अभिव्यक्ति दिनुभएको अनुभूति गरेको छु । उहाँले अभिव्यक्ति दिनु नै सान्दर्भिक विषय बनेको छ । सही ढंगबाट त्यो अभिव्यक्ति आएको भए जिम्मेवार अभिव्यक्ति दिनुभयो ।’

महासमितिको बैठकको एजेण्डाको रुपमा आउने/नआउने भन्ने छलफलकै विषय भएको उनले बताए ।

भण्डारीले भने, ‘यो विषयलाई अघिल्लो महासमितिको बैठकमा पनि उपस्थित संख्याको बहुमतले लिखित रुपमै पार्टीको मूल एजेण्डाको रुपमा वैदिक सनातन हिन्दू राष्ट्रलाई जनताको माझमा लानुपर्छ भनेका हौं । अहिले पनि हाम्रो अडान त्यही हो ।’

विगतमा षड्यन्त्रमूलक ढंगबाट संस्कार, संस्कृतिलाई नष्ट गर्ने उद्देश्यले विदेशी शक्तिहरु क्रियाशील रहेको उनको दाबी छ । नेता भण्डारी भन्छन्, ‘हाम्रो संस्कार, संस्कृतिलाई नष्ट गर्ने उद्देश्यले अहिले पनि विदेशी शक्तिहरु क्रियाशील छन्, त्यो कुरालाई नियन्त्रण गर्नुपर्छ । हाम्रो स्वधर्मलाई समर्थन गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो बहस गर्दैछौं ।’

महासमितिको बैठकमा एजेण्डा बनेर नआए अघिल्लो बैठक झैं हस्ताक्षर अभियान चलाउनुहुन्छ त भन्ने नेपाल प्रेसको जिज्ञासामा नेता भण्डारी भन्छन्, ‘बैठकको एजेण्डाको रुपमा नआए हामीले फ्लोरबाट यो एजेण्डालाई स्थापित गराउन आफ्नो कुरा राख्छौं ।’

पार्टीका अधिकांश नेताहरुले हिन्दू राष्ट्रको बारेमा सार्वजनिक रुपमा नबोले पनि आत्मसात गरेको उनको बुझाइ छ ।

‘अहिले पनि पार्टीमा धेरै साथीहरु यो एजेण्डाको पक्षमा हुनुहुन्छ । कतिले बोल्नुभएको छ, कतिले बोल्नुभएको छैन । सार्वजनिक रुपमा उहाँहरुले नबोले पनि यो कुरालाई धेरैले आत्मसात गर्नुभएको छ । त्यसमा म सहमत छु’, नेता भण्डारी भन्छन् ।

नेता भण्डारीसहित डा. शंशाक कोइराला, भीम पराजुलीलगायत नेताहरुले कांग्रेसलाई हिन्दू राष्ट्रको पक्षमा उभ्याउन पार्टी नेतृत्वमाथि दबाब बढाइरहेका छन् । अघिल्लो महासमितिको बैठकमा कांग्रेसका झण्डै आधा महासमिति सदस्यहरुले हिन्दू राष्ट्रलाई पार्टीकाे एजेण्डा बनाउन हस्ताक्षरसहित बैठकमा बुझाएका थिए ।

तर, त्यसबारे देउवाले छलफल नै चलाएनन् । अहिले महासमितिको बैठकको संघारमा देउवाले हिन्दू राष्ट्रको बारेमा दिएको अभिव्यक्तिले भने उनी लचक बन्नसक्ने संकेत गरेको छ ।

तर, महासमिति बैठकमा पनि हिन्दू राष्ट्र पार्टीगत एजेण्डाको रुपमा आउने सम्भावना छैन । महासमिति बैठकमा प्रस्ताव राख्न केन्द्रीय समितिबाट पारित भएर आउनुपर्ने हुन्छ । तर, कांग्रेसका प्रभावशाली नेताहरू अहिले धर्मको विषयलाई पार्टीको एजेन्डा बनाउने पक्षमा छैनन् ।

कांग्रेसमा मात्रै नभएर हिन्दू राष्ट्रको एजेण्डा अहिले एमाले र माओवादी केन्द्रमा पनि केही नेताहरुले उठाउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर