आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन – Nepal Press

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन

पोखरा । जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी मृत्यु भएको आरोप लगाएका छन् । पीडितले शिशुको शव उठाएको छैन । मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ । अहिले लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।

शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, मृतकका आफन्त र प्रशासनबिच छलफलमा चलिरहेको छ । पीडित पक्ष र अस्पतालबिचको छलफल अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

‘बिहानदेखी नै दुबै पक्षबीच छलफल भइराखेको छ । छानबिन समिति गठन गरेर जाने गरी दुबै पक्ष सहमति नजिक पुगेका छन् । छानबिन गरेर दोषीलाई कारवाही गर्ने गरी समिति बनाएर अगाडि बढ्छौ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *