चिन्ताजनक फेसबुक लाइभपछि सकुशल भेटिए फोटोग्राफर – Nepal Press

चिन्ताजनक फेसबुक लाइभपछि सकुशल भेटिए फोटोग्राफर

काठमाडौं । हिजो राति ८ बजेतिर छाउनी घर भएका नविन श्रेष्ठ (४६ वर्ष) फेसबुक लाइभमा आउँदा उनको फ्रेन्ड लिस्टमा भएकाहरु अत्तालिए । पृष्ठभूमिमा एउटा डोरी झुण्ड्याएर उनले आफू आत्महत्या गर्न लागेको बताइरहेका थिए ।

उनको समस्या भने त्यति ठूलो थिएन । आफूलाई मोरङ अटो वर्क्सले मोटरसाइकलको २८ हजार रुपैयाँ किस्ता तिर्नका लागि अनावश्यक टर्चर दिएको श्रेष्ठको गुनासो थियो ।

उनले हिजै सामाजिक सञ्जालमा ‘आज जिन्दगीको अन्त्य गर्न लागेको’ भनेर कारुणिक स्टाटस लेखेका थिए । आफ्नो बाइकको २८ हजार रुपैयाँका लागि मोरङ अटो वर्क्सले फोन गरेर तनाव दिएको तथा पत्रपत्रिकामा तीन पुस्ते निकालिदिने भनेर धम्की दिएको उनले स्टाटसमा उल्लेख गरेका छन् ।

‘काम सबै ठप्प छ, महंगीले गर्दा सबै प्रिवारको पनि यस्तै छ । काम गरेको पैसा कसैले पनि दिएको छैन । मंसिर १० गते जसरी पनि २८ हजार तिर भनेको छ । मसँग अहिले पैसा छैन कति भनेँ, तर उनीहरुले मानेनन्’, उनले आफ्नो छोरालाई सम्बोधन गर्दै, ‘सुसाइड नोट’ लेखेका छन् ।

फेसबुकमा लाइभ आएपछि हल्लाखल्ला सुरु भयो । कमेन्टमा केहीले उनको २८ हजार तिरिदिन तयार रहेको भन्दै गलत निर्णय नलिन आग्रह गरे । थुप्रैले उनको उद्दारका लागि प्रहरीलाई हारगुहार गरे । त्यसको केही समयपछि नेपाल प्रहरीको हेडक्वाटरले उनको सकुशल उद्दार भइसकेको जवाफ दिएपछि सबैले राहतको सास फेरेका छन् ।

फेसबुक लाइभमै श्रेष्ठ एउटा कुर्सीमा टेकेर आफ्नो घाँटीमा डोरी कसेका थिए । केही सेकेन्डमा उनको टाउको लत्रेको जस्तो देखिएको थियो । यद्यपि, उनी छट्पटाएका थिएनन् । लाइभ आफैं डिस्कनेक्ट भएको थियो । सामान्यतया मोबाइलको ब्याट्री सकिएको वा इन्टरनेट काटिएको अवस्थामा मात्रैं लाइभ आफैं डिस्कनेक्ट हुन्छ ।

प्रहरीका अनुसार श्रेष्ठले यस्तो गर्दा परिवारका सदस्यहरु घरमा थिएनन् । उक्त घरमा नवीन श्रीमती, छोरी र ७ वर्षको छोरासहित बस्दै आएका छन् । श्रीमती र छोरा किर्तिपुरमा आफन्तको भोजमा गएका थिए ।

दिउँसो १ बजे श्रीमती र छोरा भोजमा जाँदा नविन सुतिरहेका थिए । साँझ ५ बजे नविनले श्रीमतीलाई कतिबेला घर आउँने भन्दै फोन गरेको बुझिएको छ । त्यसको केही समयमै उनी फेसबुक लाइभमा आएका हुन् । प्रहरी स्रोतका अनुसार नविन मदिरा सेवन गरेको अवस्थामा थिए ।

फेसबुक लाइभ हेरेपछि उनकी श्रीमतीलाई कसैले फोन गरेर सुनायो । उनी आत्तिदै स्कुटर चढेर घर आइन् । घर आउँदा श्रीमान सकुशल भेटिए ।

श्रीमतीले श्रीमानलाई घरको सोफामा बसिरहेको अवस्थामा भेट्टाएको बताइएको छ । त्यसपछि उनले श्रीमानलाई झपारेकी थिइन् । श्रेष्ठले फेरि आत्महत्या गर्छु भन्दै डोरी समातेका थिए । तर, केही बेरमा प्रहरी घरमा आइपुगेको थियो ।

प्रहरीले उनलाई वीर अस्पताल लगेको थियो । अस्पतालमा चिकित्सकले शारीरिक उपचार आवश्यक नभएकोभन्दै काउन्सीलिङका लागि पाटन अस्पताल लैजान सुझाव दिए । त्यसपछि पाटन अस्पताल लगेर सामान्य काउन्सीलिङ पश्चात राति नै प्रहरीले उनलाई घर फर्काइदिएको छ ।

नवीन फोटोग्राफीको काम गर्छन् । केही समय उनले एक राष्ट्रिय टेलिभिजनमा पनि काम गरेका थिए । मुल घर डल्लु भएका उनी केही समयअघि छाउनीमा सरेका हुन् । २८ हजारकै लागि ज्यान फाल्नुपर्ने उनको आर्थिक अवस्था देखिँदैन ।

उनले यसअघि पनि पटक–पटक परिवारलाई आत्महत्याको धम्की दिने गरेका थिए । २÷३ महिनाअघि उनी परिवारकै सदस्यका अघि डोरी लिएर हिँडेका थिए । ‘खाना खाने बेलामा सामान्य झगडा हुँदा पनि आत्महत्या गर्छु भन्दै धम्क्याउने गरेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो ।

नवीनले यसअघि विषसेवन समेत गरेका थिए । परिवारले अस्पताल पुर्याएर ज्यान बचाएका थिए ।

काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले फेसबुक लाइभलगत्तै विभिन्न ठाउँबाट खबर प्राप्त भएकाले तत्कालै प्राविधिकरुपमा अनुसन्धान गरिएको बताए ।

‘हामीले फेसबुकसँग समन्वय गरी त्यसबाट फोन नम्बर पत्ता लगायौँ । फोन नम्बरबाट व्यक्तीको लोकेसन थाहा पाइएकाले घटनास्थलसम्म पुग्न सजिलो भयो’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *