रवि लामिछाने भन्छन्- आन्दोलन दबाउन गरिएको धरपकड लज्जास्पद, जनताको अधिकार कुन्ठित नगर – Nepal Press

रवि लामिछाने भन्छन्- आन्दोलन दबाउन गरिएको धरपकड लज्जास्पद, जनताको अधिकार कुन्ठित नगर

‘दुर्गा प्रसाईंको आन्दोलनमा आएकाहरु पनि नेपाली जनता हुन्, उनीहरुको ज्यान तलमाथि नहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा आएका जनतामाथि दमन नगर्न सरकारलाई सचेत गराएका छन् । आन्दोलनसँग सरकार डराएको देखेर आफू लज्जित बनेको उनको भनाइ छ ।

पर्सामा आयोजित जनसभामा सम्बोधन गर्दै लामिछानेले सरकारले आन्दोलन दबाउन अनावश्यक धरपकड गरेको बताए । नेपाली जनताको दुःख जसले आवाज उठाए पनि आफूहरुको समर्थन रहने भन्दै उनले शासनसत्ता गुम्ने डरले दलहरु आत्तिएको टिप्पणी गरे ।

लामिछानेले गरेको सम्बोधनको एक अंशः

काठमाडौंमा एउटा आन्दोलन चर्किएको छ अहिले । त्यसलाई दबाउन सरकारले जुन धरपकड गरेको छ, त्यो लज्जास्पद छ । स्वतन्त्र रुपमा हिँडेकालाई कुट्दै, समाउँदै, थुन्दै गर्ने काम गरिएको छ । यसरी सरकार डराएको देखेर म लज्जित भएको छु । किन डराएको होला यो सरकार ? यत्रो शक्ति छ, यतिका दलहरु छन् । किन डराएको होला सरकार यसरी ? किनकि उसलाई थाहा छ, यदि आफ्नो हातबाट शासन सत्ता फर्कियो भने उसको कर्तुत जनताले थाहा पाउँछन् र त्यसपछि हामी महलमा होइन, सिंहदरबारमा, मन्त्री क्वाटरमा होइन, जेलभित्र हुन्छौं भन्ने उनीहरुलाई थाहा छ ।

म दुर्गा प्रसाईंको प्रशंसक वा समर्थक केही होइन, उहाँका आफ्नै विचार छन्, आफ्नै ढंगले अगाडि बढ्नुभएको छ । मेरो भन्नु केही छैन । तर, उहाँले गरेको आन्दोलनमा आएकाहरु कोही लघुवित्तबाट पीडित छन्, कोही सहकारीबाट पीडित छन्, कोही बैंकको चर्को ब्याजबाट पीडित छन् । ती मानिसहरु पनि नेपाली जनता नै हुन् । म सरकारलाई चेतावनी दिन चाहन्छु, उनीहरुको ज्यानमाथि तलमाथि नहोस् ।

थाहा छैन के कारणले उनीहरु आए ? तर, जसरी आए पनि नेपाली दाजुभाइ दिदीबहिनी हुन् । वृद्ध बाआमाहरु पनि हुनुहुन्छ । म सरकारलाई भन्न चाहन्छु, प्रदर्शन गर्न पाउने, विरोध गर्न पाउने नागरिकको अधिकार हो । लोकतन्त्रको सुन्दरता हो, विशेषता हो । खबरदार, त्यसलाई कुण्ठित गर्ने काम नगरौं । कहीं जामर लगाएर नेटवर्क बन्द गरेको छ । कहीं सामाजिक सञ्जाल बन्द गरिएको छ । कतै निषेधाज्ञा लगाइएको छ । त्यहाँ छिर्न पाउँदैनस्, त्यहाँ जान पाउँदैनस् भनिएको छ । यो गलत हो । यदि गल्ती गरेको छैन सरकार र नेताहरुले भने डराउनुपर्ने केही पनि छैन । छाती खोलेर बस्नुपर्‍यो । म मेरा साथीहरुलाई जनतासँग जीवनभर आँखा जुधाएर हिँड्न सक्ने बनाउँछु ।

म नेपाली जनताको दुःखको आवाज जसले जहाँबाट उठाउँछ, धर्तीदेखि आकाशसम्म जहाँबाट उठाइएका भए पनि ती आवाजलाई साथ दिनेछु । त्यसभित्र लुकेको अन्तर्य सरकारले हेरोस्, जिम्मेवार निकायले हेरुन् । तर, लोकतन्त्रमा माग्न पनि पाइन्छ, यो ढाल्छु भन्न पाइन्छ, त्यो ल्याउँछुु पनि भन्न पाइन्छ । सरकारले संविधान बचाउन खोजेको भए, परिवर्तन जोगाउन खोजेको भए देशको यो हालत हुँदैनथ्यो । यिनीहरुलाई संविधान जोगाउनु छैन, जेल परेकालाई जोगाउनु छ र भोलि जेल जान सक्नेलाई जोगाउनु छ । त्यसैले तर्सिएका हुन् ।

यिनलाई व्यवस्था वा संविधान बचाउनु छैन, आफ्नो पद बचाउनु छ । नैतिक धरातल हुन्थ्यो भने डराउँदै, मुटु थाम्दै हिँड्नु पर्थेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर