केपी ओली कपका लागि राजु रिजालको कप्तानीमा सुदूरपश्चिमको टीम घोषणा – Nepal Press

केपी ओली कपका लागि राजु रिजालको कप्तानीमा सुदूरपश्चिमको टीम घोषणा

कैलाली । आजबाट पोखरामा सुरु भएको केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशका अनुभवी खेलाडी राजु रिजालको कप्तानीमा अन्तिम १४ जना खेलाडीको सुची सार्वजनिक गरेको हो ।

टोलीको उपकप्तानमा नारायण जोशीलाई जिम्मेवारी दिइएको हो । त्यस्तै टोलीमा खडक बोहरा,वसन्त सिंह कार्की ,सुरज तिरुवा,आयुब चन्द,किरण कुमार ठगुन्ना,विकास आग्री,नरेन साउँद,वसन्त खत्री,कैलाश ऐर,गजेन्द्र बोहरा,अबिशेक पाल र भोजराज भट्ट रहेका छन् । ४ खेलाडी टोलीको वैकल्पिक सुचीमा रहेका छन् । वैकल्पिक खेलाडीहरूमा खगेन्द्र जोशी,सुशील रावल,भरत चन्द र वीरेन्द्र बम रहेका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले मङ्सिर २ गतेदेखि धनगढीको फाप्ला खेल मैदानमा बन्द सत्र राखेको थियो । सुरुमा ८ ओटै जिल्लाका २६ खेलाडीहरूलाई बन्द सत्रमा बोलाएको थियो,त्यसपछि अन्तिम १८ को नामावली सार्वजनिक गर्दै आज अन्तिम १४ जनाको नाम सार्वजनिक गरेको हो ।

४ दिनको लगातार प्रशिक्षणपछि हिजो २६ खेलाडीबाट १८ खेलाडीको नाम सार्वजनिक गरिएको प्रशिक्षक सन्तोष भट्टले बताए । उनले सुदूरपश्चिमको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडी र युवाहरूको वर्चस्व रहेकाले टोलीले राम्रो नतिजा ल्याउने बताए ।

त्यस्तै सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले खेलाडीहरूले ५ दिनसम्म एक अर्काबाट धेरै कुरा सिक्ने मौका पाएको भन्दै सुखद नतिजा आउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले पूर्व खेलाडी सन्तोष भट्टलाई प्रशिक्षक एवं अनिल कुँवरलाई म्यानेजर बनाएको छ । सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह सी मा रहेको छ । समूह सी मै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् । मङ्सिर ११ गते सुदूरपश्चिमले पहिलो खेल मधेस प्रदेशसँग खेल्ने छ भने दोस्रो खेल मङ्सिर १२ मा नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर