‘दिमाग खराब’को ११ दिनको कमाइ ७ करोड – Nepal Press

‘दिमाग खराब’को ११ दिनको कमाइ ७ करोड

काठमाडौं । कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले ११ औं दिनसम्म आइपुग्दा ७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सुरुवातमा खासै राम्रो अकुपेन्सी नभएको ‘दिमाग खराब’ले चौथो दिनबाट गति लिएको थियो ।

निर्माता रौनक विक्रम कँडेलका अनुसार आफूहरुले वितरकबाट प्राप्त गरेको डिसीआर(डेल्ली सेल्स रिपोर्ट) अनुसार फिल्मले ७ करोड ग्रस गरेको बताए । उनले भने, ‘अहिले पनि हलहरुमा अकुपेन्सी राम्रो छ । वितरकले दिनुभएको डिसीआर रिपोर्ट अनुसार फिल्म ७ करोड ग्रस गरेको छ ।’

डिसीआर रिपोर्ट भन्नाले प्रत्येक हलहरुमा दैनिक रुपमा फिल्मले कमाएको ग्रस कलेक्सनको रिपोर्ट हो । वितरकहरुले यो रिपोर्ट निर्मातालाई बुझाउने गर्छन् ।

अहिले पनि हलहरुमा ‘दिमाग खराब’ले राम्रो प्रदर्शन गरिरहेको निर्माता कँडेलले बताए । तेस्रो हप्ता पनि फिल्मले ५० प्रतिशत शेयर पाउने भएपछि निर्माताको नेट आन्दानी पनि बढ्ने कँडेलको विश्वास छ । तर, ४ करोड लगानी रहेको बताइएको ‘दिमाग खराब’ले हलबाट मात्रै लगानी उठाउन अझैं ३ करोडमाथि ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।

आज मात्रै निर्माता संघ र हल संचालकहरुबीच नेपाली फिल्मलाई तेस्रो हप्ता पनि ५० प्रतिशत नै शेयर दिने सम्झौता भएको छ । यसअघि तेस्रो हप्तामा पुगेपछि नेपाली फिल्मले कूल ग्रस कलेक्सनको ३५ प्रतिशत मात्रै शेयर पाउने गरेका थिए ।

तर, कात्तिक ३० गते ‘दिमाग खराब’ टिमले तेस्रो हप्ता पनि ५०–५० प्रतिशत शेयर बाँडफाँड हुनुपर्ने, नेपाली चलचित्रलाई पनि विदेशी चलचित्र बराबर शो वितरण गर्नुपर्ने लगायत माग राख्दै यदि आफूहरुको माग र्पूरा नगरे हलबाट चलचित्र उठाउने बताउँदै एक विज्ञप्ती जारी गरेका थिए ।

यही विषयमा आज भएको छलफलले निर्माताले तेस्रो हप्ता ५० प्रतिशत सेयर पाउनुको अलवा हलहरुमा ३ मिनेटसम्मको ट्रेलर सित्तैमा बजाउन पाउने र हलहरुमा लगाएको पोस्टरको पनि पैसा तिर्नु नपर्ने सम्झौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर