गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप उत्खनन – Nepal Press

गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप उत्खनन

रुपन्देही । गौतमवुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनिस्थित रामग्राम स्तूपमा उत्खननका लागि भूभौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) सुरु भएको छ ।

एक महिनासम्म स्तूपको उत्तर पश्चिम क्षेत्रमा सर्भे तथा उत्खननको काम हुने पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिए ।

सन् २०१८ मा गरिएको भूभौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तूप परिसरमा पोखरी र विहारको संरचना भेटिएकाले उक्त संरचनाको उत्खननका लागि काम सुरु भएको हो ।

बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा सर्वेक्षणको काम सुरु भएको छ ।

प्रविधिको प्रयोग गरी मानिसको एक्सरे गरेजस्तै गरी जमिनको स्क्यान गरेर गरिने अध्ययनले जमिनमुनि रहेको संरचनाको बारेमा जानकारी प्राप्त हुन्छ, र सोही अनुरूप संरचनाको अवस्था पत्ता लगाई उत्खनन गर्ने गरिन्छ ।

रामग्राममा विगतमा पनि धेरै अध्ययन भएका छन् यो पटक त्यसलाई थप पुष्टि गर्ने गरी विज्ञको टोलीले एक महिना काम गर्ने प्रमुख पुरातत्त्व अधिकृत ज्ञवालीले बताए ।

विगतमा महत्त्वपूर्ण संरचना भेटिएकाले त्यसलाई थप उजागर गर्न यो अध्ययन महत्त्वपूर्ण हुने उनको भनाइ छ । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले सर्वेक्षण र उत्खननको काम गर्नेछ ।

विगतमा देखिएका संरचनाको पूर्ण पहिचान गरी त्यसको सांस्कृतिक र ऐतिहासिक अवस्थाबारे उजागर गर्नु नै अहिलेको सर्वेक्षणको प्रमुख उद्देश्य रहेको पुरातत्त्व विभागले जनाएको छ ।

रामग्राम स्तूप क्षेत्रमा सन् १९९९ देखि २००४ सम्म पुरातत्त्वविद् शुक्र सागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन गरिएको थियो त्यस बेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए।

सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको छ ।

स्तूप क्षेत्रभित्र इँटा, माटाको भाँडाकुडा लगायतका सामग्री जमिनको सतहमा पनि भेटिने गरेको छ तर स्तूप क्षेत्रभित्रै खनजोत पनि हुने भएकाले पुरातात्त्विक महत्वका संरचना नष्ट हुने जोखिम पनि बढेको छ ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले भविष्यमा विश्व सम्पदा सूचिमा सूचीकरणका लागि पनि यो अध्ययन महत्त्वपूर्ण हुने बताए। जमिनभित्रका संरचना उत्खनन गरेपछि रामग्रामको महत्त्व थप बढ्ने बताउँदै उनले अब लुम्बिनी विकास कोषले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

विगतमा पनि धेरै अध्ययनका काम भएको तर यस पटक उत्खनन गर्ने गरी सुरु भएको अध्ययन धेरै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । बुद्धकालीन क्षेत्रहरू अन्तर्गत लुम्बिनी विकास कोष मातहत रहेको रामग्राम स्तूपको संरक्षण र विकास हुन नसक्दा स्तूप क्षेत्र ओझेलमा पर्दै आएको छ ।

रामग्राम स्तूप शान्तिका अग्रदूत गौतम बुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान भएको यहाँका विषयमा आवाज उठाइरहेका जानकारहरुको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले केही समयअघि स्तूपको अवलोकन गरी यसको संरक्षण र विकासका बारेमा रामग्राम नगरपालिकासँग छलफल गरेपछि यहाँका स्थानीय सरोकारवाला उत्साहित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *