माओवादीसँग पार्टी एकता गर्न बाबुरामको नेतृत्वमा संयोजन समिति बनाउने नेसपाको निर्णय – Nepal Press

माओवादीसँग पार्टी एकता गर्न बाबुरामको नेतृत्वमा संयोजन समिति बनाउने नेसपाको निर्णय

संगठन विस्तारको लागि २ महिना समय थप, वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा ६ सदस्यीय एकता संयोजन समिति बनाउने निर्णय गरेको हो ।

बृहत समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाएको छ ।

यस्तै, संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्तै, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गदै भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि सरकारलाई अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर