महेश बस्नेत र दुर्गा प्रसाईंको वाकयुद्धले जन्माएको अनावश्यक तनाव – Nepal Press

महेश बस्नेत र दुर्गा प्रसाईंको वाकयुद्धले जन्माएको अनावश्यक तनाव

काठमाडौं । बैंक, सहकारी र लघु वित्तले जनतालाई ‘डोरी लिएर’ हिँड्नुपर्ने अवस्था बनाएको भन्दै आन्दोलन थालेका दुर्गा प्रसाईँ यतिबेला राजतन्त्र ब्यूँताउने एजेन्डा थप्दै विहीबार काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा छन् । देशभरबाट लाखौँ उतारेर व्यवस्था उल्ट्याउने प्रसाईँको दाबी छ ।

अब गणतन्त्र फ्याँकेरै मात्र फर्कने र काठमाडौंमा मर्नका लागि तयार भएर जनता आउनेजस्ता भड्किला अभिव्यक्ति उनले दिइरहेका छन् । उनको यो आन्दोलनमा नेकपा एमाले र उसको युवा भ्रातृ संगठन युवा संघले प्रतिरोध गर्ने घोषणा गरिसकेको छ । युवा संघले विहीबार नै काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । नेपाली कांग्रेस, सत्तारुढ नेकपा माओवादी केन्द्रदेखि नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले मुख खोलेका छैनन् । उनीहरू चुपचाप बस्दै राजनीतिक परिदृश्य नियालिरहेका छन् । सरकार भने रक्षात्मक देखिन्छ ।

सम्भावित झडप र अप्रिय घटना हुन नदिन किस्ताबन्दीमा निषेधित क्षेत्र घोषणा गरिएको छ । राष्ट्रपति कार्यालय रहेको शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको बालुवाटार क्षेत्रलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार राति एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गर्‍यो । त्यसअघि सिंहदरबारसँग जोडिएको माइतिघरदेखि संसद भवन जोडिएको नयाँ बानेश्वर चोकसम्मलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबार युवा संघलाई कार्यक्रम गर्न तीनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम गर्न ठाउँ छुट्याइदिएको छ । तर, सरकार र स्थानीय प्रशासन ढुक्क छैनन् । उनका नियमित अभिव्यक्ति र युवा संघका गतिविधिका कारण समग्र राजनीति नै सशंकित बनेको छ । संवेदनशील क्षेत्रमा हुन सक्ने गतिविधिलाई रोक्न बालुवाटारदेखि शितल निवास क्षेत्रसम्म निषेधाज्ञा लगाइएको सरकारी अधिकारी बताउँछन् ।

कुनै समय आफूलाई माओवादीको कार्यकर्ता रहेको बताउने प्रसाईं तत्कालीन माओवादी र एमालेलाई एक ठाउँमा ल्याउन सूत्रधारका रूपमा अघि सरेका थिए । त्यतिबेला हाल प्रधानमन्त्री रहेका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो घरमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर भाइरल नै बनेको थियो । त्यसयता उनी एमाले प्रवेश गरेर केपी ओलीको नजिक बने ।

केपी ओलीलाई नातेदार दाबी गर्दै हजुरबुबा सम्बोधन गर्ने उनी त्यहाँ लामो समय टिक्न सकेनन् । झापाको विर्तामोडमा रहेको उनको बीएन्डसी हस्पिटलले मेडिकल कलेजको मान्यता नपाएपछि उनी राजनीतिक शक्ति केन्द्रबाट टाढिँदै गएका थिए । मेडिकल कलेज बनाउन बैंकबाट लिएको अर्बौ रूपैयाँ ऋण तिर्न नसकेपछि त्यसबाट जोगिन उनले फरक बाटो अपनाउन थालेको उनका विरोधीहरू बताउँछन् । खासगरी पछिल्लो समय उनी एमाले अध्यक्ष ओली र युवा संघका पूंर्व अध्यक्ष महेश बस्नेतविरुद्ध व्यक्तीगतस्तरमा उत्तेजक अभिव्यक्ती दिइरहेका छन् ।

बस्नेत भने प्रसाईले मानसिक सन्तुलन गुमाएको दाबी गर्छन् । काठमाडौंमा प्रसाईले सय जना पनि उतार्न नसक्ने अभिव्यक्ती उनले सार्वजनिकरुपमा दिइरहेका छन् । प्रसाईँ-बस्नेतको व्यक्तिगत इगो र द्वन्द्वका कारण पछिल्लो परिस्थिति उत्पन्न भएको पनि टिप्पणी हुने गरेको छ ।

गत असोज ११ गते पत्रकार ऋषि धमलाले मेडिकल व्यवसायी प्रसाईँ र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानलाई राखेर लिएको अन्तर्वार्ता प्राइम टेलिभिजनमा प्रसारण भएको थियो । कार्यक्रममा प्रसाईँले त्यस कार्यक्रममा मारवाडी समूदायमाथी गम्भीर आक्षेप लगाएका थिए ।

मारवाडी समुदायकै ५५ जना व्यापारीका कारण दैनिक १० हजार मानिसले नेपाल छाडिरहेका दाबी गर्दै बोल्न थालेका प्रसाईँले त्यसपछि लघु वित्त, सहकारी, बैक, वित्तीय संस्था, इन्स्योन्स सबै उनीहरूकै नियन्त्रणमा रहेको र उनीहरूले नै देश सिध्याएको अभिव्यक्ती दिए । उनले मोतीलाल दुगडको नाम लिँदै केपी ओलीको पार्टनर भएको बताएका थिए । उनले मारवाडी व्यापारीसँग ओलीलाई निरन्तर जोडिरहे ।

त्यसको ११ दिनपछि युवा संघका कार्यकर्ताले उनलाई काठमाडौंमै कालोमोसो दले । तस्कर भन्दै मारवाडी व्यापारीको फोटो सार्वजनिक गर्न प्रसाईंले आयोजना गरेको कार्यक्रमपछि उनलाई कालोमोसो दलिएको थियो । त्यहाँ पनि उनले केपी ओलीमाथि गम्भीर आरोप र लाञ्छनाहरू लगाएका थिए ।

त्यसको तीन दिनपछि झापामा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन आएका बस्नेतको गाडीमा आक्रमण भएको थियो । त्यो प्रसाईँ समूह र पहिचानवादीहरूले गरेको आरोप बस्नेत पक्षको थियो । त्यस कार्यक्रममा बोल्दै बस्नेतले आफूमाथि आक्रमण गर्न आउनेलाई एमालेले नङले जुम्रा मारेजस्तै मारिदिने अभिव्यक्ति दिएका थिए ।

कात्तिक १७ गते आयोजित कार्यक्रममा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले युवा संघले मंसिर ७ गते एक धक्का दिएपछि अराजकतावादीहरूले १५/२० वर्षसम्म टाउको उठाउन नसक्ने बताए । माओवादी र वाईसीएललाई तह लगाउन युर् फोर्स बनाएर १५ वर्षसम्म शिर उठ्न नदिएको भन्दै दुर्गा प्रसाई समूहलाई मंसिर ७ गते तह लगाउने उनको आशय थियो ।

यसबीचमा बस्नेत र एक युवती जोडिएको भिडिओ सार्वजनिक भएको थियो । प्रसाईं समूहले यो बनाएको र बाहिर ल्याएको बस्नेतले आरोप लगाउँदै आएका छन् । उनले प्रसाईँ र युवतीहरुलाई जोडेर लेखिएका समाचारहरू सेयर गर्ने गरेको देखिन्छ । यता प्रसाईंले थुप्रै नेताका भिडिओहरू आफूसँग रहेको बताइरहेका छन् । केपी ओलीले कम्बोडियामा ३ हजार करोड नेपाली रूपैयाँ लगानी गरेको अभिव्यक्ति पनि उनले दिए ।

सम्बन्ध राम्रो हुँदा केपी ओलीले पैसा बोकाएर आफूलाई मारवाडी व्यापारीलाई बुझाउन पठाएको दाबी पनि उनले गर्ने गरेका छन् । अन्य थुप्रै नेताले कम्बोडियो, मंगोलिया, तुर्केमेनिस्तानमा पैसा जम्मा गरेको र दुबईदेखि अमेरिकासम्म पेट्रोल पम्प खोलेको र त्यसको प्रमाण आफूसँग रहेको उनी दाबी गरिरहेका छन् ।

एक सातायता टेलिभिजन र युट्युवहरूलाई दिएको अन्तर्वार्ता हेर्ने हो भने उनी आन्दोलनले श्रीलंकाको हालत बनाउने भनिरहेका छन् । दुई दिनअघि प्रशारण भएको एक अन्तर्वार्तामा प्रसाईंले महेश बस्नेतले पागल भनेको प्रसङ्गमा भनेका छन्, ‘म पागल हैन अब म उनीहरुलाई बौलाहा बनाएर नाङ्गै कुदाउँछु ।

‘आफ्नो आन्दोलन सफल नभए अधिकांश ऋणीहरूको घरजग्गा बैंक तथा वित्तीय संस्थाहरूले कब्जा गर्ने र दैनिक २ सय जनाले आत्महत्या गर्ने परिस्थिती आउने उनले त्यहाँ भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर