शेखरसँग दूरी बढाउँदै गगन- बदलिँदै कांग्रेसकाे शक्ति सन्तुलन – Nepal Press

शेखरसँग दूरी बढाउँदै गगन- बदलिँदै कांग्रेसकाे शक्ति सन्तुलन

काठमाडौं । कोशी प्रकरणले नेपाली कांग्रेसभित्रको विवाद सल्टिए पनि इतर पक्षका नेताहरुबीचको सम्बन्धमा सुधार आउन सकेको छैन । डा. शेखर कोइरालाले आफ्नो टीमसँग छलफलसमेत नगरी एक्लै कदम चालेपछि इतर पक्ष खलबलिएको छ ।

१४औं महाधिवेशनमा आफ्नो टीमबाट निर्वाचित महामन्त्री गगन थापासँग समेत सल्लाह नगरी कोशीमा शेखरले एमालेसँग काँध मिलाएका थिए । त्यसपछि चिसिएको सम्बन्धमा अहिलेसम्म सुधार आउन सकेको छैन । यद्यपि, एमालेको समर्थनमा पार्टीको निर्णयविरुद्ध मुख्यमन्त्री बनेका केदार कार्कीलाई गठबन्धनले स्वीकारिसकेको छ ।

शेखरको यो कदमपछि महामन्त्री थापासँगको दूरी झन् बढेको छ । कांग्रेसमा मात्रै नभएर सिंगो राजनीतिमै तरङ्ग ल्याएको शेखरको कोशीको कदमपछि अहिलेसम्म महामन्त्री थापासँग संवाद भएको छैन ।

शेखर र गगनबीच संवादहीनता जस्तो देखिएको इतर पक्षका नेता गुरुराज घिमिरेले बताए । दुई नेताबीच लामो समयदेखि भेटघाट र कुराकानीसमेत नभएको उनको भनाइ छ ।

यो परिस्थितिपछि कांग्रेसको शक्ति सन्तुलनमा फेरबदल आउने सम्भावना बढेको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा नेता घिमिरेले भने, ‘अहिले त भन्न सकिने अवस्था छैन । समीकरण फेरिन महाधिवेशन आउनुपर्छ । त्यसैले समय लाग्छ । सम्बन्धमा दरार आयो भने फेरबदल पनि हुनसक्छ ।’

शेखर र गगनबीच दूरी बढ्दै गएपछि कांग्रेसको आन्तरिक समीकरण फेरिनसक्ने कांग्रेस वृत्तमा चर्चा छ । त्यसको प्रत्यक्ष फाइदा सभापति देउवालाई पुग्ने निश्चित छ । अहिले पनि पार्टीमा सभापति देउवाकै एकलौटी निर्णय हावी हुने गरेको छ ।

इतर पक्ष नै विभाजित बन्ने अवस्थामा पुगेपछि संस्थापन पक्षलाई आगामी महाधिवेशनमा थप सहज हुने नेताहरुको बुझाइ छ । यद्यपि, कोशी विद्रोहपछि देउवाले पनि शेखरलाई महत्व दिएको नेताहरु बताउँछन् ।

तर, शक्ति सन्तुलनमा फेरबदल आउने कुरामा दुई (शेखर-गगन) मै निर्भर रहने नेता घिमिरे बताउँछन् । पछिल्लो समय शेखरसँग दूरी बढेपछि गगनले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलसहित नेताहरुसँग सामिप्यता बढाएका छन् ।

आगामी महाधिवेशनका लागि थापाले शर्मा र पौडेललाई समेत समेटेर नयाँ टीम बनाउन खोजेको शेखर पक्षको आशंका छ । यद्यपि, गगन निकट नेताहरु त्यो कुरा स्वीकार्दैनन् । शक्ति सन्तुलनको हिसाबमा पनि अहिले इतर पक्षभन्दा संस्थापन धेरै बलियो रहेकाले टीम बलियो बनाउन पहल गर्नुपर्नेमा नेताहरुको जोड छ ।

तर, शेखरको कोशी विद्रोहपछि कांग्रेसको इतर पक्षमा शेखर र गगन-विश्व समूह सतहमा आएको देखिन्छ । कोशीको विद्रोहबारे गगनले खुलेर नबोले पनि अर्का महामन्त्री शर्माले विरोध गरेका थिए । गगनले इतर पक्षमा शर्मा र पौडेललाई भित्र्याउन जोडबल गर्दा शेखरले रुचि नदेखाएको गगन पक्षको आरोप छ ।

कोशी प्रकरणपछि पनि दुई नेताबीचको सम्बन्ध नबिग्रिएको शेखर पक्षका नेता गोविन्द पोखरेलले दाबी गरे ।

उनले भने, ‘गगनजी कोशी प्रकरणमा पार्टीले निर्णय गरेपछि बोल्नुभएन, मौन रहनुभयो । विद्रोहको समर्थन पनि गर्नुभएन । सम्बन्ध बिग्रिएको छैन । हामीबीच एकदुई वटा एजेण्डामा फरक विचार भइहाल्छ । मुख्य पार्टीको कुरा हुन्छ।’

एकदुई वटा कुरामा फरक मत भए पनि आफूहरुले दुवै एउटै टीममा रहेको आफूसँगको संवादमा बताएको पोखरेलले सुनाए ।

उनले भने, ‘यो उहाँहरु दुई जनाको व्यक्तिगत राजनीतिक कुरा होइन । रुपान्तरणको एजेण्डा अघि सारेर कांग्रेसलाई भोलि अगाडि बढाउनुपर्छ भन्नेमा एकै ठाउँमा हुनुहुन्छ । मेरो संवाद भएसम्म दुवै जनाबीच कुनै एकदुई वटा कुरामा फरक मत हो । तर, टीमको हिसाबले एकै ठाउँमा छौं भनिराख्नुभएको छ।’

उनले दुई नेताहरुबीच अहिले संवादहीनताको अवस्था नरहेको दाबीसमेत गरे । नेता पोखरेलले भने, ‘बाहिर आए जस्तो संवादहीनताको अवस्था छ भन्ने लाग्दैन । पार्टीको आवश्यकताको लागि उहाँहरु एकै ठाउँमा हुने हो । दुवै जनाले आफ्नो स्वार्थभन्दा पनि पार्टीको स्वार्थको लागि पहिला पनि एकजुट भएका हुन् । अहिले पनि एकै ठाउँमा छन् । कार्यशैलीमा केही कुरा फरक हुने कुरा स्वाभाविक हो ।’

गगन निकट नेता अजयबाबु शिवाकोटीले पनि दुई नेताबीच संवादहीनताको अवस्था नरहेको जिकिर गरे ।

उनले भने, ‘शेखर दाइ र गगन दाइ संवादहीनताको अवस्थामा हुनुहुन्छ भन्ने लाग्दैन । त्यस्तो हो भने संवादमा ल्याउनुपर्छ । पार्टी सञ्चालन गर्छ भन्ने नेताहरु नै संवादहीनतामा रहनुहुन्न ।’

अरु पार्टीसँग संवादमा रहनुपर्ने बेलामा पार्टीभित्रै आफ्नै समूहभित्र संवादहीनताले सही ठाउँमा नपुर्‍याउने उनको बुझाइ छ ।

शिवाकोटीले थपे, ‘त्यो संवादहीनतामा ल्याउन कसैले भूमिका खेलेको छ भने त्यसलाई कारबाही गर्नुपर्छ । कोशी प्रकरणले उहाँहरुलाई एकै ठाउँमा उभिन दिन हुँदैन भन्नेलाई बल पुगेको छ ।’

कोशी प्रकरणले मात्रै नभएर सरकारमा मन्त्री पठाउँदा, केन्द्रीय समितिमा आफूविरुद्ध चौतर्फी आलोचना हुँदा शेखर पक्षले प्रतिवाद नगर्दा, दलको नेता र पार्टी नेतृत्व फेर्ने प्रयासमा साथ नपाउँदा, संसदीय दलको निर्वाचन टीमको भन्दा कम मत आएकोलगायतका विषयले पनि शेखर र गगनबीच दूरी बढाउन बल पुर्‍याएको निष्कर्ष निकालिएको छ ।

शेखर-गगनको उतारचढावपूर्ण सम्बन्ध चलिरहे १५औं महाधिवेशनसम्म इतर पक्ष एक ठाउँमा नहुने विश्लेषण हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर