घरेलु दर्शकसामु अन्जनले ‘सेलिब्रेट’ गर्न सक्नेछन् सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान – Nepal Press

घरेलु दर्शकसामु अन्जनले ‘सेलिब्रेट’ गर्न सक्नेछन् सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दै छ । दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेल स्ट्राइकर अन्जन विष्टका लागि नयाँ राष्ट्रिय कीर्तिमान बनाउने अवसरका रुपमा रहेको छ ।

यो खेलमा उनले कम्तिमा एक गोल गर्न सके सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका सर्वकालिन सर्वाधिक गोलकर्ता हुनेछन् । यसअघि विश्वकप छनोटको पहिलो चरणको घरेलु मैदानमा भएको खेलमा लाओसविरुद्ध गोल गर्दै उनले निराजन रायमाझी र हरि खड्काको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए । त्यसयता नेपालले दशरथ रंगशालामा पहिलो खेल खेल्दै छ ।

दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईको मैदानमा खेल्दै ४–० गोलको हार ब्यहोरेको थियो। समूहमा नेपाल, यूएई, यमन र बहराइन छन् । समूहको विजेता र उपविजेता तेस्रो चरण पुग्नेछन् । नेपालले हरेक टोलीसँग होम एन्ड अवे आधारमा खेल्ने छ । नेपाल र यमन अन्तिमपटक सन् २०१८ मा एसिया कपको छनोटमा भिडेका थिए । नेपालले यमनको मैदानमा भएको त्यस खेलमा २–१ गोलको हार ब्यहोरेको थियो ।

फुटबलको विश्व वरियतामा हाल यमन एक सय ५६ र नेपाल एक सय ७३ औँ स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर