दुर्गा प्रसाईंको अभियानका लागि डेढ लाख मान्छे काठमाडौं आइसकेको दाबी, यस्तो छ तयारी – Nepal Press

दुर्गा प्रसाईंको अभियानका लागि डेढ लाख मान्छे काठमाडौं आइसकेको दाबी, यस्तो छ तयारी

बाहिरबाट आएकालाई सुरक्षा निकायले दु:ख दिएको आरोप

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्ने कार्यक्रमका लागि राजधानी बाहिरबाट मान्छे ओसार्न थालिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा डेढ लाख मान्छे काठमाडौं आइसकेको र ६-७ लाख मान्छे काठमाडौंमा जम्मा हुने दाबी गरियो ।

प्रसाईंद्वारा घोषित ‘नागरिक बचाउ महाअभियान’ को उद्घाटन आउँदो ७ मंसिरमा काठमाडौंमा आयोजना हुँदैछ । उक्त कार्यक्रमका विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो । यद्यपि, प्रसाईं स्वयम् भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

पत्रकार सम्मेलनमा बोल्दै उक्त अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले कार्यक्रमको तयारीका विषयमा जानकारी दिएका थिए । उनले विभिन्न जिल्लाबाट डेढ लाख मानिसहरू काठमाडौं आइसकेको बताए ।

माण्डव्यले भने, ‘डेढ लाख मानिसहरु आइसकेका छन् । थप डेढ लाख मानिस आउँछन् । काठमाडौंमा ३ लाख मान्छे कार्यक्रममा जान तयार छन् । कुल मिलाएर न्यूनतम ६-७ लाख मान्छे जुट्छन् ।’
उनले यो आन्दोलन दुर्गा प्रसाईंको प्राइभेट नभएको बताए ।

‘हजारौं सानासाना समूहहरु जुटेका छन् । सबैले मिलेर गरेको सार्वजनिक आन्दोलन हो । दुर्गा प्रसाईँको मात्र भनेर प्रचार नगरौं,’ उनले भने ।

काठमाडौं आएकाहरूलाई आफूहरुले होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उनको भनाइ थियो ।

‘हामीले बुक गरेका ठाउँमा सुरक्षाकर्मीले धाकधम्की दिइरहेका छन् । धर्मशाला, पार्टी प्लालेस र होटलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नागरिकले खान बस्न पाउने हक सरकारले खोस्न खोजेको छ । यसको हामी विरोधमा छौं,’ उनले भने ।

कार्यक्रममा काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु ल्याउने उनले बताए । माण्डव्यका अनुसार भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकदेखि झापा र इलामका गाडीहरू काठमाडौं आइसकेका छन् । उनीहरुको सुरक्षा जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए ।

सीडीओ कार्यालयसँग गरिएको सहमतिअनुसार भक्तपुरबाट आउने र्‍याली कमलविनायक सानोठीमी हुँदै पेप्सीकोला आउने छ । पेप्सीबाट गुहेश्वरीको बाटो भएर मित्रपार्क हुँदै बल्खुसम्म आउनेछ । यस्तै किर्तिपुर, कलंकी र गोंगवुबाट पनि जुलुसहरू आउनेछन् । मध्यान्ह १२ बजे बल्खु चोकमा जम्मा भएर कोणसभा गरिने उनले जानकारी दिए । कोणसभालाई दुर्गा प्रसाईंलगायतले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर