कर्णालीमा १० औँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, छनौट हुने खेलाडीलाई मासिक पाँच हजार – Nepal Press

कर्णालीमा १० औँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, छनौट हुने खेलाडीलाई मासिक पाँच हजार

सुर्खेत । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कर्णाली प्रदेश सरकारले छनोट भएका खेलाडीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ ।

सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको छ ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात् ‘९९’ को टार्गेट मिट गर्ने गरी तयारी थालेको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

‘यो भन्दा अघिको खेलको नतिजाको आधारमा हामीले कर्णालीमा मेडल सम्भावित खेलहरूको वर्गीकरण गरिसकेका थियौ उनले भने,ञ १५ औँ बोर्ड बैठकले त्यसलाई झन् मूर्त रूप दियो बोर्ड बैठकका निर्णयबारे जानकारी दिँदै त्यसमा केहि खेलहरू तलमाथि हुन सक्छन् ।’

मासिक ५ हजार भत्ता दिने निर्णयले खेलाडी खुशी भएको बताएका छन् । कर्णाली प्रदेशबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर सहभागी हुँदै आएकी एथलेटिक्स विधा र ब्याडमिन्टन विधाकी खेलाडी शेस्ना सिर्पालीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को यो निर्णयले खेलाडीहरूलाई धेरै ठुलो सहयोग पुग्ने बताइन् ।

यो भन्दा अघिका थुप्रै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदा विना तयारी सहभागी हुनु पर्ने पिडा अब कर्णालीमा अन्त्य भएको उनले बताइन् । ‘अभावहरू धेरै थिए अब खेलकुद विकास परिषद् गठन भए पश्चात् छनौट भएका खेलाडीहरूलाई भत्ता स्वरूप ५ हजार दिने निर्णयले खेलाडीहरूलाई खेल तयारीको लागि झन् हौसला पुग्ने छ उनले भनिन् ।’

यस्तै, राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना हुने भएको छ ।

परिषद्को १५ औ बोर्ड बैठकले क्रिकेट खेलको दीर्घकालीन योजनाको रूपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना गर्ने दीर्घकालीन योजना पास गरेको छ ।

प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा भने कालिन्चोक स्थित क्रिकेट मैदान र निर्माणाधीन प्रदेश रङ्गशालाको उत्तरपट्टिको भागमा क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।

विभागीय मन्त्री एवं परिषद्का अध्यक्ष खड्ग बहादुर पोखरेलले कर्णाली प्रदेश सरकारले १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने बताएका छन् ।

बाहिर विभिन्न संका उब्जिरहेको भन्दै पोखरेलले भौतिक संरचना होस् वा खेल पूर्व तयारीको लागि होस् कर्णाली प्रदेश सरकार १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्ण तयारीमा जुटिसकेको बताए ।

त्यसको लागि सबैले कर्णालीमा आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउनको लागि सबैले सकारात्मक भूमिका खेल्नु पर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर