१८ दिनपछि पनि रामबहादुरलाई लाग्छ- ‘त्यो दिन घरमै बसेको भए छोरालाई बचाउँथें’ – Nepal Press
भूकम्पले दिएको पीडा

१८ दिनपछि पनि रामबहादुरलाई लाग्छ- ‘त्यो दिन घरमै बसेको भए छोरालाई बचाउँथें’

रुकुम पूर्व । १७ गते भूकम्प जाँदा रामबहादुर चन्द सानोभेरी-९ सिम्लामा थिए । सनराइज बैंकमा सुरक्षागार्डको रूपमा कार्यरत उनलाई १७ गते करिब मध्यरातमा भूकम्प गएको खबर पुग्यो ।

सिम्लामा पनि भूकम्पको ठूलै धक्क महसुस भइसकेको थियो । तर, भूकम्पले आफ्नै घरमा सन्तान गुमाउनुपर्ला भन्ने लागेको थिएन, रामबहादुरलाई ।

मध्यरातमा सिम्लाबाट वडा नम्बर ४ गोल्चर पुग्दा उनका ८ वर्षका छोरा नोर्जल चन्द पुरिएका थिए । उनीसँगै रहेका ४ महिनाका छोरा लबिस चन्द र आमा नबिना चन्दलाई स्थानीयले उद्धार गरिसकेका थिए । राम बहादुर पुग्दासम्म उनका छोरा पुरिएकै थिए ।

‘तत्काल उद्धार हुँदा अन्य दुई जनाको ज्यान जोगियो मेरो छोरा जोगिएन’ रामबहादुरले भने ‘म त्यो दिन घरमा भएको भए त्यस्तै नहुने रहेछ ।’

आज छोरा बितेको १८ दिन भयो । अहिले पनि रामबहादुरलाई त्यहीँ चिन्ताले पिरोलिरहेको छ । चन्द परिवार अहिलेसम्म पनि टेन्टमा बसिरहेका छन् ।

सानोभेरी-४ गोल्चौरमा १०६ परिवार बसोबास गर्छन् । १७ गतेको भूकम्पका कारण ३० भन्दा बाढी घर पूर्ण रूपमा क्षति भएका छन् । अहिले यहाँ कुनै पनि घरमा नागरिक बस्दैनन् ।

वडा नम्बर-४ मै रहेको पाखापानीमा पनि भूकम्पले आमा छोराको ज्यान लिएको छ । अहिले यी क्षेत्रका बासिन्दा त्रिपालको सहारामा रात काट्न बाध्य छन् । राती चिसो र दिउसो गर्मीले पिरोलिरहेको स्थानीय नरदेव रिजालले जानकारी दिए ।

‘घर चर्किएको छ बस्ने अवस्था छैन । बाहिर जाडोले अझै समस्या छ’ उनले भने तत्काल पुनर्निर्माण नभए थप समस्या हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर