जनकपुरधाममा केराको अभाव, सर्वसाधारण महँगोमा किन्न बाध्य – Nepal Press

जनकपुरधाममा केराको अभाव, सर्वसाधारण महँगोमा किन्न बाध्य

जनकपुरधाम । गत वर्ष जनकपुरधाम ७ की मिना साह ६ सयमा केराको घारी किनेकी थिइन् । उनी यस वर्ष ११ यसमा केरा किन्न बाध्य भइन् ।

केरा किनेर घरतर्फ लागेकी मिना भन्दै थिइन्, ‘यो वर्ष के भयो खै ? केराको भाउ त आकाश छोएको छ ।’ उनले एउटा घारीमा ५ सय बढी तिर्नुपर्दा उनी आफैँसँग आक्रोशित देखिइन् ।

मिना मात्र होइन, छठ पर्वका लागि जनकपुरधाममा केरा किनेका प्रायः सबैले महँगी देखेर चकित परेका छन् । जनकपुरधाममा केराको भाउ बढेकाले भारतीय सीमावर्ती बजार पुग्छन् । तर भारतीय बजारमा समेत यस वर्ष केराको भाउ बढेको सर्वसाधारणले बताएका छन् ।

जनकपुरधामबाट सबैला गाउँ करिब २० किलोमिटर छ । त्यहाँबाट केरा किन्न आएका किसन यादवले भाउ सुनेर आश्चर्य लागेको सुनाए । ‘केरा घारीमै ४/५ सय बढेको छ’, उनले भने, ‘के गर्ने ? किन्नै पर्छ । ९ सयमा सानो घारी किनेँ ।’

केराको यस वर्ष हाहाकार भएको छ । भारतबाट केरा आयात गर्न नदिएकाले नेपाली केरा महँगोमा किनेर ल्याएकाले महँगोमा बेच्नुपरेको व्यापारीहरू बताउँछन् ।

प्रायः हिन्दूले छठ पर्व मनाउँछन् । छठमा केराको घारी अनिवार्य चढाइन्छ । हरेक व्यक्तिले कम्तीमा एउटा केराको घारी किन्छन् । त्यसैले छठका बेला हरेक वर्ष केराको हाहाकार हुन्छ । झन् यस वर्ष भारतीय केरा आयात भएको छैन । त्यसैले केरा अभाव र महँगी समेत भएको छ ।

फलफूल व्यवसायी संघ जनकपुरधामका अध्यक्ष विशेश्वर यादवले भारतबाट केरा आयात गर्न नदिएका कारण केराको भाउ बढेको बताए । उनले भने, ‘पोहोर वर्ष करिब ४० ट्रक भारतीय केरा जनकपुरधाम आएको थियो । यस वर्ष भारतबाट केरा ल्याउनै दिएन ।’

उनका अनुसार भारतबाट केरा नआएकै कारण केराको भाउ आकासिएको छ । ‘केरा महँगोमा किन्नुपर्ने बाध्यता सरकारकै कारण भएको छ । यसमा सरकार दोषी छ’, उनले थपे ।

जनकपुरधाममा मात्र हरेक वर्ष करोडौँको केराको कारोबार हुन्छ । नेपालमा बजारमा केरा अभाव भएपछि सीमावर्ती क्षेत्रका मानिसहरू भारतीय बजारबाट किन्न बाध्य छन् । एउटा/दुईवटा केराको घारी भारतीय बजारबाट किनेर ल्याउँदा प्रहरीले रोक्ने गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *