भूकम्प प्रभावित क्षेत्रमा १५ दिनदेखि उपचारमा खटिएकी छन् सांसद तोसिमा (भिडिओ) – Nepal Press

भूकम्प प्रभावित क्षेत्रमा १५ दिनदेखि उपचारमा खटिएकी छन् सांसद तोसिमा (भिडिओ)

सुर्खेत । कार्तिक १७ गते शुक्रवार राति भूकम्पका कारण कर्णाली प्रदेशको विशेष गरी जाजरकोट, रुकुम पश्चिममा ठूलो क्षति हुन पुग्यो । उक्त भूकम्पका कारण जनधनको क्षति बेहोर्नुपर्यो । टूलाे मानवीय क्षति बेहाेरेकाे जाजरकाेट र रुकुम पश्चिममा नेताहरुले  आफूहरुलाई नहेरेकाे गुनासाे भूकम्पपीडितकाे छ । आफ्नाे क्षेत्रबाट जितेर गएका सा‌ंसद नेता मन्त्रीहरुले  बेवास्ता गर्दा दुखी छन्  उनीहरु ।

तर आफनाहरु गुमाउनुको साथै घरबारबिहीनहरु पीडा देखेर कार्तिक १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा‍.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि भूकम्प प्रभावित जिल्लाहरू तर्फ लागिन् । उनी पेशाले चिकित्सक हुन् ।

उनले हाडजोर्नी विशेषज्ञ, एनेस्थेसियोलोजिष्ट, जनरल फिजिसियन, मेडिकल अफिसरसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूसहित नेपालगन्ज हुँदै सुर्खेत जाने र केही डाक्टरहरू भेरीबाट जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित ठाउँमा लगेर गइन् ।

आकस्मिक अपरेसन र उपचार गर्ने तयारीका सामानहरू पनि साथैमा लिएर गएकी थिइन् । त्यहाँ पुगेपछि भूकम्पका कारण सामान्य घाइतेदेखि गम्भीर घाइतेहरूको पीडामा मलम लगाउने काम गर्न थालिन् ।

सांसद कार्की जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित ठाउँका पीडितहरुको उपचारमा खटिएको आज १५ दिन पुगेको छ । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका, चौरजहारी नगरपालिकामा पुगेर बिरामीको उपचारमा खटिएकी छन् ।

भाइटिकाको दिनमा सांसद कार्की रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ र जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पबाट घाइते र परिवार गुमाएका आफन्तसँग भेटघाट र घाइतेहरूलाई उपचार गरेर दिन बिताएको थिइन् ।

भूकम्पपीडितहरुको लागि रास्वापाले अस्थायी टहराहरू बनाउने कार्य गरिरहेको सांसद कार्कीले नेपाल प्रेसलाई बताइन्। २्३ जनाको आफैँले पनि अप्रेसन गरेका बिरामीहरू भएकाले यतिकै छोडेर आफू फर्किन नमिल्ने उनी बताउँछिन् । आफू यहाँबाट कहिले फकिन्छु भन्ने टुङ्गो नभएको उनको भनाई छ ।

जाजरकोट जिल्ला अस्पतालमा ओटी आइसीयू नहुँदा इमरजेन्सी गम्भीर घाइतेको अप्रेसन गर्नु परेको कार्की बताउँछिन् । यस्तै, उक्त अस्पतालमा ओटी र आइसीयू सञ्चालनका लागि उपकरण जोड्ने अभियानमा पनि लागि परेको बताइन् ।

‘अस्पताल भए पनि सामान्य शल्यक्रिया गर्न पनि रिफर गर्नुपर्ने अवस्था रहेको छ’ सांसद कार्कीले भनिन्,‘उपकरण छैन, कोठा सबै खाली छन् । ६ जना विशेषज्ञको दरबन्दीमा सबै खाली रहेको छ । अस्पताललाई ५० बेडको खाली भवन मात्र नभएर अस्पतालमा उपकरण र दरबन्दी सम्पन्न विशिष्टीकृत अस्पताल बनाई तत्काल ओटी र आइसियु सेवा सञ्चालन गर्नुपर्छ । भूकम्पले मात्रै नभएर अन्य विपद्का घटनामा आइपर्ने स्वास्थ्य सम्बन्धीका समस्याहरूलाई ठूलो राहत पुग्न जान्छ ।’

दोस्रो पटक भूकम्प जाँदा सांसद कार्की पनि जाजरकोटमा नै थिइन् । उक्त भूकम्पले पहिरो पनि गयो । सो भूकम्प आउँदा कार्की डराएको पनि बताउँछिन् । तर, भूकम्प गए पनि जनताको सेवा गर्नका लागि यहाँ आएको र आफू सचेत भएर जनताको सेवा नै गर्नु पर्छ भन्ने मनमा राखेर पहिरोलाई छिचोल्दै उपचारका लागि घटनास्थल तर्फ गएको सम्झिन्छिन् ।

सरकारले २०७२ सालको भूकम्पपछि पूर्व तयारी गर्नु पर्ने थियो तर त्यो नभएको कार्कीको भनाइ छ ।

‘जनताले राहत नै पाएका छैनौँ भन्नु लाजको मर्नु हो सांसद कार्की भन्छिन्,‘भूकम्पबाट विस्थापित भएका परिवार के कति छन् त्यो बराबरको उनीहरूलाई चाहिने सामाग्री जसमा गाँस, बास र कपास वितरण गर्नुपर्ने हो । भूकम्प प्रभावित दुई जिल्लामा अहिलेसम्म कभर गर्न नसक्नु भनेको राज्यको कमजोरी हो । जति राहत वितरण भएको छ त्यो व्यवस्थित छैन । जनताको गुनासो पनि जसको पहुँच छ उसैले मात्रै राहत पाएका छन् भन्ने आउँछ । तर, यसको नियमन हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर