विश्वकपमा तहल्का पिटिरहेका सामीविरुद्ध पत्नीका संगीन आरोपहरु – Nepal Press

विश्वकपमा तहल्का पिटिरहेका सामीविरुद्ध पत्नीका संगीन आरोपहरु

वेश्यागमन, घरेलु हिंसा र म्याच फिक्सिङ गर्ने श्रीमानको प्रदर्शनमा कुनै गौरव छैन : पत्नी हसिन जहाँ

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा तहल्का पिटिरहेका छन् भारतीय फास्ट बलर मोहम्मद सामी । प्रतियोगिताका पहिलो चार खेलमा स्थान बनाउन नसकेका उनले बाँकी खेलमा सनसनी प्रदर्शन गर्दै भारतलाई फाइनलमा पुर्याए ।

सामीको प्रदर्शनलाई लिएर सारा भारतीयहरु खुशी छन् र उनको प्रशंसा गरिरहेका छन् । तर, सामीकी आफ्नै पत्नी हसिन जहाँलाई श्रीमानको प्रदर्शनप्रति कुनै गौरव छैन । अरु खेलाडीका पत्नी रंगशालामै उपस्थित भएर श्रीमानलाई फ्लाइङ किस दिइरहँदा सामीकी पत्नी भने आफ्नै दुनियाँमा छिन् ।

खासमा सामी र उनकी पत्नी हसिन जहाँको सम्बन्ध राम्रो छैन । सामीविरुद्ध हसिन लामो समयदेखि कानूनी लडाईंमा छिन् । प्रान्तीय र उच्च अदालतबाट न्याय नपाएपछि केही महिला अगाडि मात्रै उनले श्रीमानमाथि भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । श्रीमानले आफूलाई घरेलु हिंसा गरेको, बलात्कार गरेको तथा यौनकर्मीहरुसँग सम्बन्ध राखेको उनको आरोप छ ।

सामी र हसिनबीच २०१४ मा विहे भएको थियो । आफ्नो पहिलो विवाह सन् २०१० मा टुटेपछि हसिन सामीसँग नजिकिएकी थिइन् । पहिलो श्रीमानबाट उनका दुई छोरी थिए । सामीबाट एक छोरी थपिएकी छन् । तर, विवाहपछि भने सामी र हसिनको सम्बन्ध सुमधुर रहन सकेन । सामीले कुटपिट गर्ने, अन्य युवतीहरुसँग सम्वन्ध राख्ने तथा डिभोर्सका लागि दवाव दिने गरेपछि हसिन अदालतको शरणमा पुगेकी थिइन् । उनीहरुको डिभोर्सको मुद्दा अझै टुंगिएको छैन ।

हसिनले सामीको खेल जीवनमाथि पनि गम्भीर आरोप लगाएकी छन् । भारतका लागि खेल्दा श्रीमानले म्याच फिक्सिङ गरेको दावी उनले सन् २०२० मा गरेकी थिइन् । प्रमाणसहित प्रहरीमा उजुरी दिएपछि भारतको क्रिकेट बोर्डले सामीलाई केन्द्रीय सम्झौताबाट अलग गरेर छानविन गरेको थियो । पछि उनलाई क्लीन चिट दिएर राष्ट्रिय टिममा फर्काइएको हो ।

सामीले विश्वकप सेमिफाइनलमा सनसनी प्रदर्शन गर्दै सात विकेट लिएपछि हसिनले एउटा भिडिओ क्लीप पोस्ट गरेकी छन् । उक्त क्लीपलाई लिएर कतिपयले हसिन सामीप्रति सकारात्मक बन्न थालेको अड्कलवाजी गरे । तर, भर्खरैको ताजा अन्तरवार्तामा हसिनले त्यसलाई खारेज गरिदिएकी छन् ।

अन्तरवार्तामा हसिनले सामीप्रति आफ्नो अहिले पनि कुनै अनुराग नरहेको प्रष्ट पारेकी छन् । भारतीय टिमलाई विश्वकप जित्न शुभकामना दिए पनि सामीलाई शुभकामना नदिने उनले अडान लिइन् ।

पछिल्लो समय आएका विभिन्न अन्तरवार्तामा हसिनका भनाइहरु यस्ता छन्ः

म मेरो पहिलेको श्रीमानसँग २०१० मा अलग भएको थिएँ । पहिलो श्रीमानबाट दुई छोरी छन् । मेरी जेठी छोरी पूर्वपतिका परिवारसँग थिए । मैले आठ महिना कानूनी लडाईं गरेर छोरीहरुको रेखदेखको अधिकार प्राप्त गरेँ । त्यसपछि उनीहरुलाई आफैंसँग राखँे ।

सामीलाई मैले पहिलोपटक भेट्दा उनी नेसनल टिममा आएका थिएनन् । बंगालको स्थानीय टिमहरुबाट खेल्थे । एउटा पार्टीमा हाम्रो भेट भएको थियो । उनले मलाई पछ्याउन थाले । प्रेम प्रस्ताव राखे ।

सुरुमा त मैले कुनै भाउ दिइनँ । सामीको परिवार गरिब थियो भने उच्चमध्यम परिवारकी थिएँ । मेरो परिवारले क्रिकेटरसँग विवाह गर्न अनुमति दिँदैनथे । तर, सामी मरिहत्ते गरिरहेका थिए । उनले मात्र नभएर उनको परिवारले नै मलाई मरिहत्ते गरे । उनीहरुको नक्कली माया देखेर म पग्लिएँ । ससुराले चाहीँ मलाई भित्रैदेखि माया गरेका हुन् । पछिसम्म पनि गर्थे । अरुको चाहीँ मसँग नजिक्याएर उनकी प्रेमिकासँग अलग्याउने साजिस मात्र रहेछ ।

सामी त्यसबेला एक युवतीसँग प्रेममा थिए । ती युवती गाउँले थिइन् । परिवारले सामीको विवाह उनीसँग गर्न चाहेका थिएनन् । सामी मसित नजिकएपछि परिवारलाई पनि त्यो राहतको विषय भयो । तर मेरो परिवार चाहीँ सामीप्रति सकारात्मक थिएनन् । बुवाले क्रिकेटरको क्यारेक्टर ठिक हुँदैन भन्नुभएको थियो । तर, मलाई उनीहरुको मायाले जित्यो । पहिलो विवाहमा धोका पाएको हुँदा यो परिवार मेरो लागि फरिस्ता नै बनेर आएको जस्तो लाग्यो । मैले सामीको प्रस्ताव निकै समय लगाएर स्वीकार गरेँ ।

विहे अघिसम्म सामी मेरा छोरीहरुलाई निकै माया देखाउँथे । तर, त्यो सबै बनावटी थियो भन्ने पछि थाहा भयो । विहेपछि सामीले छोरीहरुलाई मसित राख्ने अनुमति दिएनन् । छोरीहरुसँग मैले भेटेको रुचाउँथेनन् । यही निहुँमा मलाई टर्चर दिन थाले । कुटपिट गर्न थाले ।

सामीले मलाई कुनै पनि भ्रमणमा आफूसँग लैजान चाहँदैनथे । तर, केही भ्रमणमा मैले जबरजस्ति गएकी थिएँ । उनले मलाई होटलको कोठामा थुनेर राख्थे । बाहिर अरु केटीहरुसँग रात बिताउँथे । हाम्रो बारम्बार झगडा पथ्र्यो । सामी चाहन्थे कि म कहिले पनि उनीसँग हिँड्न उत्साहित नहुँ ।

सामीले दुईवटा मोबाइल प्रयोग गर्थे । एउटा मोबाइलमा उनको अन्य युवतीहरुसँग कुरा हुन्थ्यो । अनेकन युवतीहरुसँग उनी सम्पर्क र सम्वन्धमा थिएँ । ती युवतीमध्ये धेरै यौनकर्मीहरु थिए । सामीले उनीहरुसँग गरेका फोन र च्याटका विवरणहरु मसित सुरक्षित छन्, जुन मैले प्रहरी र अदालतलाई दिएको छु ।

खासमा मलाई विवाहको रिसेप्सनबाटै पारिवारिक दुर्व्यवहार सुरु भएको थियो । रिसेप्सनमा नै उनका दाइले मलाई जबरजस्ति अंकमाल र किस गरेका थिए । पछि यो क्रम बढ्दै गयो । सामीले नै मलाई दाइसँग नजिकिन र सम्बन्ध राख्न दबाब दिन्थे । म हैरान हुँदै गएकी थिएँ । तीनपटक आत्महत्याको प्रयास पनि गरेँ । तर, छोरीहरुलाई सोचेर गर्न सकिनँ ।

क्रिकेटमा पनि सामीका गतिविधिहरु शंकाष्पद थिए । सामी र उनका भाइले म्याच फिक्सिङका लागि लेनदेन गरेका थुप्रै प्रमाणहरु मसित छन् । मैले प्रहरीमा बुझाएको थिएँ । तर, सामीले आफ्नो प्रभाव र पहुँचका आधारमा क्लीन चिट पाए । उनी पैसा र केटीका लागि जे पनि गर्न सक्ने घटिया मान्छे हुन् ।

सामीसँग प्रेम भएको बेला म मोडलिङमा थिएँ । कलकत्तामै मोडलिङ गर्थेँ । मुम्बइ आएर संघर्ष गर्ने योजना थियो । तर, विवाहपछि सामीले मलाई मोडलिङबाट अलग हुन वाध्य पारे । उनी चाहँदैन थिए कि मैले बाहिर काम गरुँ । म बाहिर निस्किएँ भने उनका कर्तुतहरु थाहा पाउँछु भन्ने डर रहेछ । मुखले चाहीँ म हुँदा हुँदै तिमीले किन काम गर्नुपर्यो भन्ने गर्थे ।

सामीको सोच चाहीँ मसँग डिभोर्स लिएर कुनै बलिउड अभिनेत्रीसँग विवाह गर्ने थियो । बिराट कोहली, हरभजन सिंहहरुले बलिउड अभिनेत्रीसँग विहे गरेको तर आफूले चाहिँ कलकत्ताकी मामूली मोडलसँग गर्नुपरेकोमा उनलाई पछुतो थियो ।

नेसनल टिममा परिसकेपछि उनलाई यस्तो भावना आएको थियो । उनी कट्रिना कैफलाई हुरुक्क भएर मन पराउँथे । कट्रिना हातबाट उम्किएको भन्दै निराश थिए । यद्यपि, कुनै पनि बलिउड अभिनेत्रीले उनलाई भाउ दिएको थाहा छैन । तर, पनि उनलाई मसित छुट्न पाए एउटीलाई त पक्कै पट्याउँछु भन्ने थियो ।

मैले अदालतमा मुद्दा दिएको पनि पाँच वर्ष बितिसकेको छ । तर, अदालतले न्याय दिएन । पैसामा बिक्दा रहेछन् सबै । हुँदा हुँदा मैले हायर गरेका वकिलसमेत बिकिसकेका रहेछन् । मलाई आफ्नै वकिलले भुलभुलैयामा पारे । अन्ततः अर्को वकिल राखेर मैले सुप्रिम कोर्टमा मुद्दा दिएको छु ।

म क्रिकेटमा रुची राख्दिनँ । विश्वकपका खेलहरु हेरेको पनि छैन । सामीले गरेको प्रदर्शनमा चासो छैन । यद्यपि, उनले राम्रो खेले र राष्ट्रिय टिममा परिरहे भने राम्रो पैसा कमाउलान् । यसले मेरो र छोरीको भविष्य पनि सुरक्षित हुन सक्ला । मेरो चासो यति मात्र हो । किनभने मेरो र छोरीको भरणपोषण सामीले गर्नुपर्छ ।

मैले मासिक १० लाख रुपैयाँ भरणपोषण खर्च माग गरेको छु । हुन त मैले ५० लाख पनि माक्न सक्थेँ । उनले आफ्नो मासिक आम्दानी ६–७ करोड रहेको बताइरहेका छन् । तर, १० लाख माग्दा पनि मलाई ट्रोल गरिएको छ । सामीले महिनामा एक करोड रुपैयाँ खर्च गर्छन् भने उनको श्रीमती र छोरीलाई १० लाख रुपैयाँ दिन सक्दैनन् ?

म अहिले आफ्नो जिन्दगी बाँचिरहेको छु । छोरीसँग मस्ति गर्छु । आफ्नो रुचीका चिजहरु सामाजिक सञ्जालमा हाल्छु । मानिसहरुले जबरजस्ति त्यसलाई विभिन्न अर्थ लगाउँछन् । सामीप्रति ममा कुनै पनि सदासयता छैन । न मलाई उनको प्रदर्शनप्रति कुनै गर्व छ । भारतले विश्वकप जित्यो भने टिमलाई शुभकामना दिनेछु, तर सामीलाई व्यक्तिगतरुपमा दिन्न । उनी त्यसको हकदार छैनन् । उनले मेरो र बच्चाका जिन्दगी बर्बाद पारेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर