कैदीबन्दीलाई खुसी पार्न भैरहवामा पहिलोपटक तिहार महोत्सव, चार सय कैदीबन्दी यसरी रमाए महोत्सवमा – Nepal Press

कैदीबन्दीलाई खुसी पार्न भैरहवामा पहिलोपटक तिहार महोत्सव, चार सय कैदीबन्दी यसरी रमाए महोत्सवमा

रुपन्देही । रुपन्देही भैरहवास्थित कारागारामा रहेका कैदीबन्दीहरुले पहिले पटक तिहारको महशुस गरे । रुपन्देहीको यो कारगारमा एक सय ५० जनाको क्षमता रहेकोमा चार सय ४६ जना सकसपूर्ण तरिकाले बस्न बाध्य छन् । सधै अत्यासिलो वातावरणमा बस्नुपर्ने उनीहरु यो तिहारमा भने देउँसी भैलो र संगीतले रमाइलो गरी मनाए ।

बन्दीगृहमा निसास्सिएर बसेका कैदीबन्दीहरु तिहार उत्सवमा झुम्न पाउँदा निकै खुसी देखिन्थे । बन्दी कलाकारले आ–आफ्ना कला प्रस्तुत गर्दा अन्यले तालमा ताल मिलाउँदै उत्साह थपेका थिए ।

वि.सं. १९९० सालमा स्थापना भएको यो कारागारमा पहिलो पटक तिहार उत्सव गरिएको हो । उत्सवलाई उल्लासमय बनाउन जिल्ला प्रशासन, प्रहरी र भैरहवाका उद्योगी व्यवसायीहरुले सहयोग गरेका थिए । कैदीबन्दीहरुसँग यहाँका प्रमुख जिल्ला अधिकारी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सँगै रमाएका थिए ।

कारागारमा कानुनको विवादमा परेका यस्ता व्याक्तिमा हौसला र प्रेरणा भर्ने साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरु गर्नुपर्ने हो । औपचारिक शिक्षा, व्यावसायिक तालिम, स्वास्थ्य, मनोविमर्श, सामाजिक सेवालगायतको व्यवस्था हुनुपर्छ । तर, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण जस्ता नैसर्गिक अधिकारबाट समेत उनीहरु वञ्चित छन् ।

कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्दै चाडबाडका बेला यसरीनै रमाइलो माहोल बनाइदिए निसास्सिएर बसेका कैदीबन्दीहरुको आग्रह छ ।

चाडपर्वका बेला यसरी बन्दी जिवन बिताइरहेका कैदीहरुसँग सँगै खाँदै, रमाउन पाउँदा फरक अनुभूति गर्न पाएको अनुभव सुनाए । प्रहरी जवानहरुको कलाकार टोलीले गरेको रमझमले बन्दीहरुमा अझ मनोरञ्जन थपेको थियो । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो ।

पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी तथा विभिन्न मिष्ठान्न र परिकार खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । चारैतिर रमझम भैरहेका बेला कारागारहरुमा भने कुनै रौनक हुँदैनथ्यो ।

यस्तो बेलामा रुपन्देहीको कारागारमा गुम्सिएर बसेका कैदीबन्दीहरुलाई चाडबाडको रमाइलो अनुभूति गराउन तिहार उत्सव गरिएको छ ।

रुपन्देहीको कारागारमा रहेका चार सयभन्दा बढी कैदीबन्दीहरु यसरी यो वर्ष फरक माहोलको वातावरणमा रमाएका हुन् । कारागारमा रहेका कैदीबन्दी शर्मा हरिजनले आफलाई यो वर्षको तिहारले निकै खुसी बनाएको बताए ।

चाडपर्वमा कैदीबन्दी भएपनि रमाउन सकिन्छ, आफ्नो दिमागमा भएका तनाबहरु बिर्साउन सकिनेरहेछ, निकै खुसी छु, आफ्नो भएका प्रतिभा पनि यहाँ रहेका साथीहले देखाउन पाए’ उनले भने । अर्को कैदीबन्दी डेबिड नेपालीले यो प्रकारका कार्यक्रमले आफूहरुलाई निकै उत्साह थपेको बताए । हामी भित्र बसेकाको भावनालाई ध्यान दिएर यो खालको कार्यक्रम गरियो निकै खुसी छौं’ उनले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर श्रेष्ठले यहाँ बसिरहेकाहरु निराजनक अवस्थामा रहेको तर हामी सबैको सहकार्यमा गरिएको यो कार्यक्रमले निकै उत्साहित बनाएको र आफूहरुलाई पनि ऊर्जा थपेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदीबन्दीको अनुहारमा देखिएको खुसीले निकै राम्रो भएको बताए । यो कार्यक्रममले अबको केही महिना उनीहरुलाई ऊर्जा थप्ने अर्यालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर