तिहारमै मिसियो थारु समुदायको सोहराई पर्व, मौलिकता हराउँदै – Nepal Press

तिहारमै मिसियो थारु समुदायको सोहराई पर्व, मौलिकता हराउँदै

चितवन । तिहारसँगै मनाउने थारु समुदायको सोहराई पर्व तिहारमै मिसिएर मौलिकता हराउँदै गएको छ ।

तराई क्षेत्रका थारु समुदायले तिहारकै समयमा पाँच दिन मनाउने यो पर्व अहिले मिश्रित रुपमा मनाउन थालिएको हो ।

तिहार, दीपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको थारु समुदायका अगुवाहरुको भनाई छ ।

थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रनारायण चौधरीका अनुसार पूर्वका थारु समुदायले यो पर्वलाई सुखराइत पनि भन्ने र पश्चिमका थारु समुदायले डेवारी पनि भन्ने गर्दछन् ।

नेपालका अधिकांश समुदायले मनाउने भएकोले यो पर्वलाई साझा पर्वकोरुपमा लिने थारु पत्रकार संघ केन्द्रीय कोषाध्यक्ष कारी महतो बताउँछन् ।

पाँच दिनमध्ये पहिलो दिनलाई पिठ्कुटी, दोश्रो दिनलाई दिउराई, तेश्रो दिनलाई सोहराई, चौथो दिनलाई जेनुई र अन्तिम दिनलाई भेनुई भनिने महतोले बताए । तर, पछिल्लो समय तीन दिनमा मात्रै सीमित भएको यस पर्वमा तिहार पर्व पनि मिसिएको बताउँछन् ।

सोहराईमा ढिकरी, बगिया, नकगर, ढेमना, दिउली, गैंडु आदि नामका रोटीका परिकारहरु बनाइन्छ ।

त्यसकिसिमका रोटीहरु बनाउनकालागि पिठ्कुटीको दिनमा चामलको पिठो कुट्ने दिन भएकोले त्यस दिनलाई पिठ्कुटी भनिने, दोस्रो दिउराईको दिन माछामार्ने दिन भएकोले त्यस दिनलाई मछुवारी भनिने उनले बताए ।

त्यसदिन गाउँका मानिसहरू हुल बाँधेर नजिकको खोला वा नदीमा माछा मार्न जाने गर्छन् तर हिजोआज खोला नदीमा पर्याप्त माछा नपाइने हुनाले पोखरीकै माछा बजारमा किनिन्छ ।

सोही दिन बेलुका घरमूलीले घरछिमेकका सानासाना केटाकेटीहरुलाई जम्मा पारी घरको मूलट्ठार अगाडि आँगनमा बनेका रोटीका परिकारहरुको पुजापाठ गरी बाघचाल खेलकै जस्तो कोठाकोठी बनाएर त्यसको चारैकुना र बीचमा रोटीको थुप्रो लगाई बत्ती बालेर पानी र रक्सी चढाएर हारालुछ गर्न लगाउँछ । त्यसलाई दिउलीबाती लुटोइ भनिने महतो बताउँछन् ।

दिउराईको बेलुका पिठो मुछेर दियो आकारको रोटी बनाई त्यस दियोमा कुँवारबत्ती बाली घर अगाडिको बीच बाटोमा राखेर डण्डाले त्यो दियोलाई फुटाउने गर्छन् । महतो भन्छन्, – दियो फुटाउनुभन्दा अगाडि “घुसमस भाजह री, डैनीक मुण फुटह री” भनेर लौरोले ढ्याम्म बजारेर दियोलाई टुक्राटुक्रा पार्छन् । त्यसलाई “डैनीक मुण फोरइ” भनिन्छ ।

यता सोही बेलुका घरका पाको पुरुष महिलाले थालभरि रोटीकै परिकार राखी दियो बाली गोठमा गएर गाईगोरुलाई तेल घसेर मालिस गरी रोटी खुवाउँछन् । र गोठमा रातभरि उज्यालो बनाई राख्नका लागि नरकटको विशेष प्रकारको दियो राख्ने सामग्री बनाएर बत्ती बालीदिन्छन् । त्यस दियो राख्ने सामग्रीलाई एकासी दिउवा भनिने उनले बताए ।

तेश्रो दिनलाई सोहराई भनिन्छ । सोहराईको दिन सबेरै भालेको डाँकसँगै घरको मुख्य गृहिणीले घरको कुनाकाप्चामा रहेको दुष्ट चीजहरुलाई भगाउनका लागि नाङ्लो ठटाउँदै मन्त्र पाठ गर्दछिन् ।

यसलाई दालदलिदर खेदई भनिन्छ । घर परिवारमा भएको दुखदर्द, दुष्ट र नराम्रा शक्तिहरुलाई घरबाट भगाउनका लागि दालदलिदर भगहरी भन्ने शब्द उच्चारण गर्दै नाङ्लोलाई हँसियाले ठटाउँदै मुख्यबाटोमा छोडिन्छ, महतो थप्छन्,- नाङ्लो र हँसिया नै बाटोमा छोडिन्छ । त्यसपछि परिवारको एक कन्या केटीले उक्त नाङ्लो बोकेर ल्याउने गरिन्छ । यसबाट घरमा भएको दुष्ट र नकारात्मक शक्ति भाग्दछ भने कन्या केटीले नाङ्लो र हँसिया भित्र्याउँदा घरमा सकारात्मक कुरा र अन्न सम्पत्ति भित्रिने जनविश्वास गरिन्छ ।

सबेरै महिलाहरुले चामलको पिठो र एक प्रकारको लहराको रसमा मिसाएर घरको मूलद्वार अगाडि आँगनमा विशेष प्रकारका रङ्गोली जस्तै चित्र बनाउने गर्दछन् । घरमूलीले त्यस ठाउँमा धान, चामल, ढिकरी, ढेमना रोटी र गैडु रोटी चढाएर कुखुरा, परेवा काट्छन् र रक्सी पनि चढाउँछन् ।

त्यसै दिन घरमूली र गृहिणीले घरको भित्ता, झ्याल, ढोका, गोठ, धन्सार, देवथान आदिसबैमा त्यसरी पुजा गर्ने पनि उनले बताए ।

सोहराईको दिन सबेरै गोठालोहरु स्नान गरी गाईगोरुका लागि विशेष किसिमका स्वादिष्ट परिकारहरु पकाउँछन् । त्यसपछि गाउँका सबै घरका गोठालोहरु एकअर्काको घरमा गई नुन बाँड्ने गर्छन् । सबैले सबैको घरमा गई नुन बाँड्दा नुन साटफेर गरेकोजस्तो देखिन्छ । प्राप्त भएको नुनबाट गाईबस्तुकालागि विशेष परिकार बन्छ र दिनभरि खुवाइन्छ, कुनैले रक्सी पनि खुवाउँछन् । दिउँसोतिर खोला नदीमा गाउँको सबै गाईवस्तुहरुलाई लगेर नुहाईदिने गर्छन् । त्यसपछि घरमा ल्याएर सबै गाईवस्तुलाई विभिन्न किसिमका रङहरुले श्रृंगार गरीदिन्छन् ।

पूर्वी नेपालका थारु समुदायले चाहिँ सोहराईको दिन खेतको आलीमा पाइने घाँसबाट हुडा बनाएर गाईवस्तुको हुलमा जुन अटेरी छ त्यसलाई हान्ने र तितरबिर पार्ने, गोठालालाई टिका लगाइदिने, दक्षिणा दिने चलन भएको थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष महतोले जानकारी दिए ।

थारु समुदाय, प्रकृति र कृषिसँग जोडिएको यसपर्व पछिल्लो समय भने थारु समुदायले तिहारसँगै मिश्रित रुपमा मनाउने गरेका छन् । पूर्व अध्यक्ष महतो सोहराईमा भाइटिका लगाउने चलन नभए पनि पछिल्लो समय तिहार पनि यहि पर्वमा मिसिएको बताउँछन् ।

पशु र कृषि औजार, घर, गोठ आदिको पुजा गरी “कृषि उब्जनी बढोस्, भकारीमा सह रहोस्, घर र गोठको सुरक्षा होओस्, पशुको संरक्षण एवं विस्तार होओस्, वनस्पतिको वृद्धि होओस्, वन्यजन्तुले दुःख नदिऊन्, भन्दै सुखी जीवनको कामना गर्ने यस पर्वमा नातागोता, इष्टमित्र, चेलीबेटी, बन्धुबान्धव सबैलाई आफ्नो घरमा निमन्त्रणा गरी विभिन्न परिकारहरु खानपान गरी अतिथि सत्कार भने गरिने चलन रहेको कारी महतोले जानकारी दिए ।

उनी भन्छन्, – हिजोआज अन्य समुदायले जस्तो तरिकाले मनाउँछन्, थारु समुदायले पनि त्यसरी नै मनाउन खोज्दा सोहराई मनाउने तरिका नै मिश्रित किसिमको भएको छ । थारु समुदायले पहिले पहिले देउसी भैलो खेल्ने गरेका थिएन । न त भाईटिका नै लगाउने गरेका थिए, तर अहिले भाइटिका, देउसीभैलोमा रमाउने गरेको पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *