सरकारले टिकटक प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गर्‍यो, तुरुन्तै फिर्ता लिइयोस् : राप्रपा – Nepal Press

सरकारले टिकटक प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गर्‍यो, तुरुन्तै फिर्ता लिइयोस् : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले टिकटक प्रतिबन्ध गर्न लागेको प्रति आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै सो निर्णय अस्वीकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘चर्चित भिडियो प्लर्टफर्म “टिकटक”लाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयाँका अध्याय प्रारम्भ गरेको छ, जुन अस्विकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण छ ।’

लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्विकार्य नहुने उनको भनाइ छ । ‘हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत’, श्रेष्ठले अगाडि लेखेका छन् ।

जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सन्जालमा हुने आलोचनासँग त्रसित हुनेहरुले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।

त्यस्तै, राप्रपाले सरकारले यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । त्यस्तै, टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक युट्युब, ट्वीटरलगायतमा आलोचना सुनिने भन्दै प्रवक्ता श्रेष्ठले ति सबै बन्द गर्ने सरकारको नीति हो भनि प्रश्न गरेका छन् ।

‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटर लगायत पनि बन्द गर्ने सरकारको नीति हो ? निर्णय फिर्ता लिऊ र जवाफ देऊ’, उनले लेखेका छन्, ‘आफूलाई लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या ! यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर