मनाइयो महाकवि लक्ष्मीप्रसादको ११५ औं जन्मजयन्ती (भिडि‌ओ) – Nepal Press

मनाइयो महाकवि लक्ष्मीप्रसादको ११५ औं जन्मजयन्ती (भिडि‌ओ)

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापन तथा सदस्य सचिव नरेन्द्रराज प्रसाईले कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

महाकवि देवकोटाको जन्म वि.सं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । वि.सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो ।

अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *