फूलमा आत्मनिर्भरतर्फ लुम्बिनी प्रदेश, प्लाष्टिकका माला र भारतीय फूलले व्यवसायी निराश
![](https://www.nepalpress.com/wp-content/uploads/2023/11/falful-kheti.jpg)
रुपन्देही । लुम्बिनी प्रदेश पछिल्ला वर्ष फूलमा आत्मनिर्भरको बाटोमा लम्केको छ । विगतमा भारतीय फूलको बजार रहेको लुम्बिनीका केही जिल्लालाई खुला सीमाका कारण अझै आत्मनिर्भर हुन समस्या छ ।
बजारमा फूलको मग राम्रो हुँदै गएपछि किसानहरूले क्षेत्रफल बढाउँदै आएका छन् । नयाँ किसान पनि व्यवसायिक फूल खेतीमा आकर्षित भएका छन् ।
पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेका अनुसार पहिले प्रदेशमा ८० प्रतिशत फूल बाहिरबाट आउँथ्यो । २० प्रतिशतमात्रै स्थानीय उत्पादनले धानेकोमा अहिले ८० प्रतिशत ओगटेको छ । अहिले २० प्रतिशतमात्रै बाहिरबाट आउने अध्यक्ष पाण्डे बताउँछन् ।
प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूल खेती विस्तार भएको छ । फूलबाट राम्रो आम्दानी हुने देखिएपछि तराई र पहाड दुवै क्षेत्रका किसान व्यावसायिक फूल खेतीमा लागेको उनले बताए ।
‘अहिले केही ठाउँमा समूह बनाएर र केही ठाउँमा एकल रूपमै किसानले व्यवसायिक फूल खेती गर्ने गरेका छन्’, अध्यक्ष पाण्डेले भने, ‘प्रदेशमा सामूहिक र व्यवसायिक ४०० किसान आवद्ध छन् । तर, सबै हामीकहाँ दर्ता छैनन् ।’
उनका अनुसार धेरै खेती हुने जिल्लामा रुपन्देही, दाङ, बाँके, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी र गुल्मी छन् ।
‘अन्य जिल्लामा पनि विस्तार भएको छ, अहिले काठमाडौं र पोखराबाट माग भए पनि पठाउन सकिने अवस्था छ । किसान पनि व्यवसायिक र व्यवहारिक हुनुपर्नेछ’, उनले भने, ‘प्लाष्टिकको माला प्रतिबन्ध गरे पनि कार्यान्वयन भएन । माला पनि बाहिरबाट आइरहेका छन् । स्थानीय सरकारले यस्ता विषयलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न सकेनन् । पूरै बन्द सम्भव तत्काल नहोला । तर, कम गर्न ध्यान पुराउन र स्थानीयलाई घरछेउमा उत्पादन गराउन प्रोत्साहन गर्ने र व्यवसायिक रुपमा अंगाल्नेलाई साथ दिनुपर्छ ।’
उनका अनुसार खेती बढे पनि बजारको ग्यारेन्टी छैन । तिहारबाहेक अन्य समयमा पनि फूलको प्रयोग र खोजी हुने वातावरण बनाइनुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुन्ना बरालीले लुम्बिनीको रुकुम र प्युठानमा फूल खेती तुलनात्मक रूपमा कम भए पनि अन्य जिल्लामा उल्लेख्य हुने गरेको बताइन् ।
उनले प्रदेशमा २८ हेक्टर जमिनमा फूल खेती भएको जानकारी दिइन् । लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको उनले बताइन् । बरालीका अनुसार लुम्बिनीमा उत्पादित फूल स्याङ्जा, पोखरालगायतका ठाउँमा समेत जाने गरेको छ ।
बिरुवा रोपेको तीन महिनामै उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसानहरू फूल खेतीमा आकर्षित भएको उनको भनाइ छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्प व्यवसाय प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत १२ वटै जिल्लामा सञ्चालन गरेको छ ।
ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्प खेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको प्रदेशका कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख वरिष्ठ कृषि बाली संरक्षण अधिकृत घनश्याम चौधरीले बताए ।
शीत भण्डार नहुँदा उत्पादित फूल भण्डारण गर्न नपाएर नोक्सानी व्यहोर्नु परेको पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष पाण्डे बताउँछन् ।
सरकारले किसानलाई उन्नत बीउ, मल, कृषि औजार, जग्गा, सहुलियत ऋण, थोपा सिंचाइ, शीत भण्डार, ग्रीन हाउसलगायत प्रविधिमा सहयोग गर्नुपर्ने पुष्प व्यवसायीहरूको माग छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सयपत्री फूलको उत्पादन हुने गरेको छ । विशेषगरी तिहारका बेला बढी खपत हुने सयपत्री र मखमली फूललाई शीत भण्डारमा राख्न सके तिहारपछि हुने पूजा, बिहेलगायत अन्य अवसरमा प्रयोग गर्न सहज हुने कृषि प्राविधिक एवं फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश कुँवरले बताए ।
तिलोत्तमा नगरपालिका- २ का ईश्वरी भण्डारीले ग्रीनजोन एग्रोफर्म स्थापना गरी फूल उत्पादन गर्न थालेको ४ वर्ष भयो । गत साल १० कट्ठा जग्गामा सयपत्री उत्पादन गरेका भण्डारीले अहिले २ बिघामा खेती गरेका छन् ।
बुटवल उपमहानगरपालिका- १५ चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरले पनि तिहार लक्षित फूल उत्पादन गरेको छ । गत वर्ष व्यवसायिक रूपमा ३५ सयभन्दा बढी सयपत्री फूलको माला उत्पादन गरेको उक्त सेन्टरले अहिले १० हजार माला उत्पादन गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष ८ कट्ठामा फूल खेती गरिएकोमा अहिले बढाएर १५ कट्ठामा लगाइएको फार्मका अध्यक्ष राजेश कुँवरले बताए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ की कोपिला काफ्लेको नेतृत्वमा गठन भएको तिलोत्तमा मोडर्न फूल उत्पादक समूहले अहिले १० कट्ठा जग्गामा सयपत्री फूल उत्पादन गरेको छ ।
सुरुमा ५ कट्ठा क्षेत्रफलमा फूल उत्पादन गरेको उक्त समूहले अहिले १० कट्ठामा फूल लगाएको छ । अहिले कम्तीमा ५ हजार माला हुने फूल उत्पादन भएको अध्यक्ष काफ्लेले बताइन् । उनको समूहमा २५ जना संलग्न छन् ।
रुपन्देहीको तिलोत्तमा वडा नं ५ र ९ मा रमेश पाण्डेले लामो समयदेखि यही खेतीलाई मुख्य पेशा बनाएका छन् । अहिले पनि ३ हजार फूलका बिरुवा लगाएको, १ विघामा नर्सरी चलाएको उनी बताउँछन् ।
रोकिएन प्लाष्टिकका मालाको व्यापार
घर अगाडिको आँगन किनारामा ढकमक्क सयपत्री, गोदावरी, मखमली फुले पनि फूलको पर्व मानिने तिहारमा गाउँका पसलहरुमा समेत प्लाष्टिकका माला छ्यापछ्याप्ती छन् । प्राकृतिक फूलको विकल्पमा प्लाष्टिकका फूलका माला भित्रिँदा व्यवसायीहरु निराश छन् । गाउँबस्तीमा बसाइसराइको प्रभाव, वन्यजन्तुको समस्या, वैदेशिक रोजगारीको प्रभावले कृत्रिम फूलको मालाको प्रयोगसँगै व्यापार बढेको स्थानीयको भनाइ छ ।
वातावरणीय दृष्टिकोणबाट कृत्रिम, आयातित प्लाष्टिकबाट निर्मित माला राम्रो हुँदैन । यस्ता मालाका कारण प्राकृतिक फूलमालाको व्यापार प्रभावित हुदै आएको छ । प्लाष्टिकका आयातित मालाको बिक्री वितरणमा पूर्ण रुपले प्रतिबन्ध नै लगाउन पर्ने माग आए पनि तत्काल त्यो सम्भव नभएको स्थानीय व्यवसायीको भनाइ छ ।
आयातित वस्तुलाई प्रतिवन्ध तथा बिक्री वितरणमा संघीय तथा केही स्थानीय सरकारले रोक लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारले गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालमा कृत्रिम प्रकारका फूल र मालाको सबै प्रकारको कारोबार निषेध गरेको थियो ।
वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (९६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकका फूल, गुच्छा मालाको उत्पादन, आयात, बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख गरेअनुरुप सरकारले परिणात्मक वा पूर्ण रुपमा बन्देज लगाएका वस्तु आयात गर्न नपाइने गरिएको निकासी पैठारी ऐन २०१३ मा प्रष्ट छ । ऐनको दफा ५ अनुरुप सरकारले निकासी पैठारी खरिद बिक्रीमा बन्देज लगाएको वस्तु निकासी या पैठारी गरेमा यस्ता वस्तु जफत गरिनुका साथै सोको मूल्य बराबर जरिवाना र १ वर्ष कैद सजाय हुने कानूनमा उल्लेख छ ।
कानूनी रुपमा बन्देज लगाएका वस्तुहरुको भन्सार कार्यालयबाट नै आयातमा प्रतिवन्ध लगाउनुपर्ने भए पनि खुला सीमाका कारण त्यो पूर्ण सम्भव देखिएको छैन ।