सप्तरी महोत्सवमा प्रीति पासवान पुग्दा लफडा, ढुंगामुढा गरेको निहुँमा दर्शकमाथि निर्मम कुटपिट (भिडिओ) – Nepal Press

सप्तरी महोत्सवमा प्रीति पासवान पुग्दा लफडा, ढुंगामुढा गरेको निहुँमा दर्शकमाथि निर्मम कुटपिट (भिडिओ)

जनकपुरधाम । सप्तरीको राजविराजमा जारी ‘सप्तरी महोत्सव’मा पुगेकी कलाकार प्रीति पासवानको कार्यक्रम बिथोलिएको छ । कार्यक्रम बिथोलेको निहुँमा कैयौँ दर्शक कुटिएका छन् ।

कलाकार प्रीति पासवानको प्रस्तुति रहने भन्दै आयोजकले व्यापक प्रचार प्रचार गरेको थियो । जसका कारण हजारौँ दर्शक उर्लिए । तर कार्यक्रम स्थलमा समेत पुग्न नसकेपछि दर्शकहरू ढुंगामुढा गरेको बुझिएको छ ।

महोत्सव राजविराजको राज रंगशालामा भइरहेको छ । सांस्कृतिक कार्यक्रम पनि त्यहीभित्र हुन्छ । तर आज भित्र प्रवेश गर्न तीन वटा गेट मात्र खोलियो । तर कार्यक्रम हेर्न पुगेका दर्शकको भीड थामिनसक्नु थियो ।

अत्यधिक भीडका कारण रंगशालाको पर्खाल भत्कियो । त्यसपछि बाहिर रहेका दर्शकहरू एकसाथ प्रवेश गरे । उनीहरू पुगेपछि पासवानको कार्यक्रममा ढुंगामुढा भएको बुझिएको छ ।

ढुंगामुढा भएपछि प्रहरी र महोत्सव समिति उग्र बन्यो । उनीहरू अन्धाधुन्ध लाठी वर्षाएको एक दर्शकले बताए ।

उनका अनुसार महोत्सव समितिका व्यक्तिहरू पनि प्रहरी जस्तै लाठी (भाटा) बोकेका थिए । समितिका व्यक्तिहरू कैयौँ दर्शकलाई निर्ममतापूर्वक कुटेका छन् ।

दर्शकलाई महोत्सवका व्यक्तिहरू निर्ममतापूर्वक कुटेको भिडिओ स्थानीय चन्दन रजकले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जुन भिडिओमा देख्न सकिन्छ, ‘एक युवक (दर्शक) भुईँमा लडेका छन् । र, उनलाई दुई/तीन जना व्यक्ति (समिति) भाटाले पिटिरहेका छन् । भुईँमा लडेका युवक रोई कराइरहेका छन् ।’

भिडिओ पोस्ट गरेका रजकका अनुसार ढुंगामुढा गरे कोही तर समिति र प्रहरीबाट कुटाई अन्य दर्शकले खाएको बताए । उनका अनुसार कैयौँ दर्शक घाइते छन् । उनीहरू भागेर कहाँ पुगे थाहा छैन ।

ढुंगामुढा र कुटपिटपछि कलाकार पासवानको कार्यक्रम स्थगित गरिएको थियो । दर्शकको भीडले भने स्टेज र कुर्सीहरू पनि तोडफोड गरेका छन् ।

घटना विषयमा बुझ्न सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धी बज्राचार्यसँग पटक पटक सम्पर्कको प्रयास गर्दा पनि हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर