जब जुकाको औषधि माग्दा ग्यास्ट्रिकको दिइयो – Nepal Press

जब जुकाको औषधि माग्दा ग्यास्ट्रिकको दिइयो

डोटी । डोटी, दिपायल सिलगढी नगरपालिका–८ गोदडाका मान बहादुर साउदलाई आफ्नो पेटमा जुका रहेको जस्तो लाग्यो । उनी स्वास्थ्य जाँच गराउन स्थानीय लडागडा स्वास्थ्य चौकी पुगे । स्वास्थ्यकर्मीले उनलाई जुकाको औषधी दिएपनि । तर, त्यो औषधी जुकाको नभई ग्यास्टिकको रहेछ ।

स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मीले दिएको औषधी बोकेर घर जाँदै गरेका उनले पछिल्लो समयमा खाएको जुकाको औषधी सम्झिए । औषधीबारे धेरै ज्ञान नभएका मानबहादुरले औषधीको खोल हेर्दा जुकाको औषधी होइन कि भन्ने सोचे । तर, स्वास्थ्यकर्मीले दिएको औषधी किन गलत होला र भन्दै उनी घरतिर लागे ।

घर पुगेर पनि उनको शंका कम भएन । उनले आफ्ना एक स्वास्थ्यकर्मी साथीलाई उक्त औषधिको फोटो खिचेर म्यासेन्जरमा पठाए । साथीले उक्त औषधि ‘अल्ट्रासिड–एस’ अर्थात् ग्यास्ट्रिकको औषधी रहेको बताए ।

‘मलाइ जुका ठिक नभएसम्म बिहान र साँझ एक/एक ट्याब्लेट खानु भनेर यो औषधि दिइएको थियो’ मानबहादुर भन्छन् ‘अहिले आएर थाहा भयो, यो औषधि त ग्यास्ट्रिकको पो रहेछ ।’

आफूलाई गलत औषधि दिएको थाह पाएपछि उनले आफूसँगै ग्यास्टिकको औषधि लिन स्वास्थ्य चौकी पुगेका राम बहादुर साउदलाई भेटे । कतै रामबहादुरलाई दिने औषधि र आफ्नो औषधि साटियो कि भन्ने शंका लागेको थियो उनलाई । तर रामबहादुलाई त ग्यास्ट्रिकको भन्दै एन्टिबायोटिक औषधि दिइएको रहेछ ।

राम बहादुर भन्छन् ‘हामीलाई औषधिको बारेमा थाहा हुँदैन, हामी स्वास्थ्यकर्मीमाथि विश्वास गर्छौ तर स्वास्थ्य समस्या एउटा, औषधि अर्कै दिँदा हाम्रो स्वास्थ्यमा कस्तो असर पर्ला ?’ यस्तायस्तै घटनाले स्वास्थ्य चौकीप्रति अविश्वास पैदा भएको उनी बताउँछन् ।

रामबहादुर र मानबहादुरलाई औषधी दिने व्यक्ति लडागडा स्वास्थ्य चौकीको ल्याबमा कार्यरत कर्मचारी शेर कुञ्जेडा हुन् । उनले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

‘हिजो १२ बजेपछि स्वास्थ्य चौकीमा कोही पनि थिएनन्, म एक्लै थिएँ’ कुञ्जेडाले भने ‘सेवाग्राही आएपछि मैले औषधि दिएकै हुँ, यो मेरो गल्ती भयो ।’ उनले आफू ल्यावको कर्मचारी भएकाले औषधि सम्वन्धी खासै ज्ञान नभएको बताए । उनी भन्छन् ‘अबदेखि यस्तो गल्ती दोहरिने छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर