मुगु हत्याकाण्ड: श्रीमानसँगको रिसइवी साँध्न श्रीमती र छोराछोरीको हत्या ! – Nepal Press

मुगु हत्याकाण्ड: श्रीमानसँगको रिसइवी साँध्न श्रीमती र छोराछोरीको हत्या !

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका- ६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका- ७ घर भएका ३० वर्षीय काले भनिने गोर्खबहादुर शाही ठकुरी र सोही पालिकाको वडा नम्बर ८ घर भएका ३१ वर्षीय गोपाल बोहोरालाई पक्राउ गरेको थियो । मुगु प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिकसमेत गरेको छ ।

उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका- ६ मन्दुका दीपक बोहराकी श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए ।

मुगु प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए ।

दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी साँध्न दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुलेको बयान प्रहरीलाई दिएका छन् ।

गोर्खबहादुरले घटनास्थलबाट बरामद गलबन्दी आफ्नो भएको प्रहरीसमक्ष बयानसमेत दिएका छन् ।

गोपालले गत जेठमा छायाँनाथ रारा नगरपालिका- ७ पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानी बस्ने ३० वर्षीय गोर्खबहादुर शाहीलाई भेटेर दीपकको परिवारको हत्या गर्ने र श्रीदेवीसँग भएको १०–१२ तोला सुन र नगद लुटपाट गर्ने योजना बनाएको मुगु प्रहरीले बताएको छ ।

हत्या योजनाअनुसार गोर्खबहादुर कार्तिक ५ गते सुर्खेतबाट मुगु हिँडेका थिए । त्यसको भोलिपल्ट वडा नम्बर ६ मन्दुमा गएर गोपालसँग भेटेर गोर्खबहादुर मृतक श्रीदेवीको घरको भुईंतलाको खरायोको खोर भएको कोठामा कोही कसैले नदेख्ने गरी लुकिछिपी बसेका थिए । कार्तिक ७ गते दिनभर मन्दुस्थित एक सामुदायिक विद्यालय नजिक खोलामा लुकिछिपी बसको उनी साँझ गोपालको पुरानो गोठघरमा गएर बसेका थिए । जहाँ उनलाई गोपालले घरबाट खाना ल्याइदिएका थिए ।

कार्तिक ८ गते साँझ श्रीदेवी छोराछोरीसहित माइतीबाट घर फर्केर खाना खाएर बसेका थिए । राति ९ बजे गोपाल र गोर्खबहादुरले श्रीदेवीलाई बाहिरबाट बोलाइ ढोका खोल्न लगाएर घरभित्र गएका थिए । सोही बेला दुबै जना मिलेर धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको र श्रीदेवीको मोबाइल र उनले कानमा लगाएको अन्दाजी २.५ तोला सुनको रिङ र घाँटीमा लगाएको २५ लाल सुनको तिलहरी लुटेर लगेका थिए ।

घटनापश्चात गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म पैदल गएर कार्तिक ९ गते सुर्खेत पुगेको प्रहरीले जनाएको छ । उनले श्रीदेवीले प्रयोग गर्ने मोबाइलमा आफ्नो सिम हालेर चलाएका थिए ।

प्रहरीले कार्तिक २३ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १८ कारकाँदोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खबहादुरले लुकाइछिपाइ राखेको १ लाख ७९ हजार रुपैयाँ, गोर्खबहादुर शाहीको नामको नेपाली राहादानी, उनकै नामका बस टिकट २ थानलगायत बरामद गरेको थियो । उक्त रकम मृतकबाट लुटिएको सुन बिक्री गरी आर्जन गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोर्खबहादुरलाई कार्तिक २० गते वीरेन्द्रनगर नगरपालिका- ५ पञ्चकोशी टोलस्थित जसकला बमको घरबाट पक्राउ गरेको थियो । उनलाई मुगु जिल्ला अदालतमा हाजिर गराइ ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले म्याद थपसमेत गरेको छ । गोर्खबहादुरको बयान र मुगु जिल्ला अदालतको पक्राउ अनुमति आदेशलगत्तै शुक्रबार गोपाल बोहरालाई उनकै घरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *