असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती ६.५ प्रतिशतले वृद्धि – Nepal Press

असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती ६.५ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको असोजमा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन हालसम्मकै सबैभन्दा धेरै हो ।

यसअघि साउनमा १ खर्ब १६ अर्ब २ करोड विप्रेषण आप्रवाह भएको थियो । अहिले त्यो रेकर्ड ब्रेक भएको हो ।

चालू आवको असोजमा ६.७ प्रतिशतले विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिती १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर थियो । हाल विदेशी मुद्राको सञ्चिती बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत असारमा १३४५ अर्ब ७८ करोड रहेकोमा असोजमा ६.५ प्रतिशतले वृद्धि भई १४३३ अर्ब ३६ करोड पुगेको छ । यसले १२ महिनाको वस्तु आयात धान्न सक्ने राष्ट्रले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती गत असारमा १९३ अर्ब ५९ करोड रहेकोमा असोजमा ८.३ प्रतिशतले वृद्धि भई २०९ अर्ब ७३ करोड कायम भएको छ ।

असोजमा विदेशी विनिमय सञ्चितीको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । गत असारमा यी अनुपात क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

समीक्षा अवधिमा चालू खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब २४ करोडले घाटामा थियो ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आइ १ अर्ब १५ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक थियो ।

३ महिनाको अवधिमा शोधान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *