तिहारमा कस्तो रहला मौसम ? – Nepal Press

तिहारमा कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गरे । उनले भने, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तापक्रम घट्दैः चिसो बढ्दै
पछिल्ला दिनमा क्रमिकरुपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’, मौसमविद् अधिकारीले भने ।
तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर