युनानमा माधव नेपालको सम्बोधन- चीनलाई भूराजनीतिक घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिँदैनौं – Nepal Press

युनानमा माधव नेपालको सम्बोधन- चीनलाई भूराजनीतिक घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिँदैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भूराजनीतिक रूपमा चीनलाई घेरा नेपाली भूमि प्रयोग गर्न कुनै पनि कामलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।

चीन भ्रमणको क्रममा युनान प्रान्तमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई  स्वीकार गर्न सक्दैनौं ।’

उनले कुनै पनि देशबाट विभिन्न उद्देश्य साथ आउने सैन्य-सम्बन्धित सहयोग, छिमेकीविरुद्ध प्रयोग गर्ने रणनीति र भू-राजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेको बताए ।

नेपालले भने, ‘नेपाल र चीन बीचको सम्बन्ध सदियौंदेखिको गहिरो एवम् इतिहास र सँस्कृतिद्वारा बाँधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौं । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ ।’

नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको उनले आश्वस्त पारे ।

‘हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौं । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने, कमजोर बनाउने कतिपय क्रियाकलाप प्रति हामी सचेत छौं’, नेपालले भने ।

हजार ओटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बीआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमूना प्रस्तुत गरेको उल्लेख गरे ।

उनले भने, ‘हामी बेल्ट एण्ड रोड इनिसिएटिभलाई विशुद्ध सहयोगी प्रयासको रूपमा हेर्छौं जसले नेपालजस्ता देशहरूको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ । नेपाल बीआरआईमा समर्थन र सहभागिता जनाउने शुरुवातकै देश हो र हामीले यसमा सहभागिता जनाएको झण्डै एक दशक भइसकेको छ ।’

भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्रको रूपमा नयाँ परिभाषा निर्माण गर्न, लिष्ट डेभलभ कन्ट्रीबाट ग्र्याजुएसन हुन र दिगो विकास सहित कृषि तथा उद्योगको पावरहाउस बन्दै पर्यटकहरूको गन्तव्य मुलुकको रुपमा नेपाललाई विकास गर्न बीआरआईले सहयोग पुग्ने उनको विश्वास छ ।

आगामी दिनमा बीआरआईअन्तर्गत प्रस्तावित परियोजनाहरुलाई मूर्त रूप दिन र थप परियोजनाहरू निर्माण गरी कार्यान्वयन गर्न चाहने पनि नेपालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर