एन्फा विशेष साधारणसभा : अध्यक्ष त जोगियो, तर पनि देखिएन नेम्वाङको मुहारमा खुशी – Nepal Press

एन्फा विशेष साधारणसभा : अध्यक्ष त जोगियो, तर पनि देखिएन नेम्वाङको मुहारमा खुशी

हेटौँडा । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को जीवनमा पहिलो पटक एउटा घटना घट्यो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ पहिलो ‘अविश्वासको प्रस्ताव’ फेस गर्ने अध्यक्ष बने । २०७९ असार ६ गते तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका उनले करिब १६ महिनाको अवधिमा नै उनकौ शब्दमा भन्नुपर्दा ‘आश्चार्यचकित’ रुपमा अविश्वासको प्रस्ताव फेस गर्नुपर्यो ।

पर्दाबाट शेर्पालाई हराएर नेम्वाङलाई अध्यक्ष बनाउने भूमिकामा रहेका गणेश थापा समूहले अहिले आएर शेर्पालाई साथ दिँदै नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गत भदौ २५ गते नै ४९ जना अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर नेम्वाङलाई बुझाईसकेको थियो ।

एन्फा विधान बमोजिम एक तिहाई सदस्यबाट अविश्वासको प्रस्ताव माग भएपछि त्यसको एक महिनामा विशेष साधरणसभा गरिसक्नुपर्ने प्रावधान अनुसार बिहिबार बागमती प्रदेशको राजधानी हेटौँडामा विशेष साधरणसभा पनि भयो र उनले करिब १०० प्रतिशत मत प्राप्त गर्दै आफ्नो पद जोगाउन सफल भयो । अर्थात शेर्पा समूहले दायर गरेको अविश्वासको प्रस्ताव साधरणसभाले खारेज गरिदियो ।

विशेष साधरणसभामा करिब १०० प्रतिशत मत प्राप्त गर्दै पद जोगाएका अध्यक्ष नेम्वाङको मुहारमा भने खुशीको रेखा देखिएको थियो । मत परिणामपछि भएको पत्रकार सम्मेलनमा पनि उनी देखा परेनन् । पत्रकार सम्मेलनको जिम्मा उपाध्यक्ष, महासचिव र प्रवक्तालाई लगाएर उनी हल बाहिर एक्लै उभिरहेका थिए । पत्रकार सम्मेलनपछि पत्रकारहरु आफैले अध्यक्षलाई खोजेर प्रतिक्रिया लिँदा समेत उनको मुहार मलिन थियो ।

आफूले एक वर्षको हारहारीमा नै अविश्वासको प्रस्ताव फेस गर्नुपर्ने विषय सोच्दै नसोचेको र यो आश्चार्यचकित पार्ने विषय भएको भन्दै उनले पत्रकारसामु दुःख मात्र व्यक्त गरेनन्, यसले एन्फाको आगामी भविष्यमा समेत ठूलो जोखिम ल्याउने विश्लेषण गरे ।

उनले भने, ‘मेरो सोच फुटबलको विकास र प्रर्वद्धन बाहेक केही नै थिएन तर एक्कासी कसरी यस्तो काम भयो, म आफै अचम्मित छु ।’ फुटबललाई असफल बनाउन लागि परेकाहरुबाट यस्तो खेल भैरहेको भन्दै उनले यस्ताखाले खेललाई परास्त गरिने बताए ।

अविश्वासको प्रस्ताव गर्दा गर्दा हस्ताक्षर गरेका ४९ मध्य करिब १५ जनाले अहिले आफूलाई समर्थन गरेकोमा केहि सहज देखिएका नेम्वाङले फुटबलमा भएको यस्ताखाले घटनाले भने आफुलाई थप चिन्तित बनाएको बताए ।

ए डिभिजन लिग, राष्ट्रिय लिग, महिला लिगहरु, जिल्ला लिग लगाएतको विषयमा अब ध्यान केन्द्रीत हुने भन्दै उनले बाँकी ३४ जनालाई पनि साथ लिएर अघि बढने दाबी गरे । फुटबलमा पलाएनको ठुलो समस्या रहेको समयमा एन्फालाई राजनीतिक गर्ने स्थान बनाएको भन्दै उनले अब यस्तो नहुने बताए ।

कर्माको घोषणा : यस्तो पाराले फुटबल विकास हुँदैन

निर्वाचन परिणाम घोषणा भएपछि पत्रकारहरुसँग कुरा गर्दै एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भने यस्तो पाराले फुटबलको विकास नहुने ठोकुवा गरे ।

अविश्वासको प्रस्ताव दर्ताको समयमा हस्ताक्षर गरेका सदस्यहरुलाई विभिन्न प्रलोभन देखाएर प्रभावित बनाउँदै साधरणसभा गरिएको भन्दै उनले एकलौटी रुपमा अघि बढेर फुटबलको विकास नहुने दाबी गरे । आफुहरुले लोकतन्त्रको मूल्य मान्यता अनुसार अविश्वासको प्रस्ताव दर्ता गरेको तर प्रस्ताव गर्नेहरुलाई बोल्न पनि नदिएर अपमान गरिनु लज्जाजनक विषय भएको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *