पोर्चुगलको पहिलो नेपाली राजदूत बन्दै शनिल नेपाल – Nepal Press

पोर्चुगलको पहिलो नेपाली राजदूत बन्दै शनिल नेपाल

काठमाडौ‌ । कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए ।

उनले कांग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए । नेपालले दर्जनौं अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

पाल्पामा जन्मेका नेपाल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए । विद्यालयमा नेविसंघको अध्यक्ष हुँदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपाल कानूनशास्त्रका समेत विद्यार्थी हुन् ।

युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थित नेपालीले तत्काल दूतावास स्थापना गर्दा दबाब दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को यो निर्णयमा पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर