जाजरकोट भूकम्प पीडितलाई राजनीतिक दलले गरे सवा दुई करोड सहयोग, के हो स्रोत ? – Nepal Press

जाजरकोट भूकम्प पीडितलाई राजनीतिक दलले गरे सवा दुई करोड सहयोग, के हो स्रोत ?

काठमाडौं । गत शुक्रबार राति जाजरकोटको लामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ । ३५० जना घाइते भएका छन् । भूकम्पका कारण दुबै जिल्लामा गरेर ७ हजारभन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पुगेको गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्य करिब अन्तिम चरणमा पुगेको छ । सरकारले राहत तथा पुनःस्थापनाको कार्य अघि बढाएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट आर्थिक सहयोग पनि जुटिरहेको छ । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन भइरहँदा यस पटक भूकम्प प्रभावित क्षेत्रका लागि प्रमुख राजनीतिक दलले पनि लाखौं रकम सरकारी कोषमा जम्मा गराएका छन् ।

दलका नेता तथा कार्यकर्ताबाट आर्थिक संकलन जुटाएर पार्टी सञ्चालन गरिरहेका दलले भूकम्प पीडितका लागि लाखौं रकम कसरी जम्मा गरे ? सबैले चासोका साथ हेरिरहेका छन् ।

माओवादी केन्द्रबाट ५० लाख सहयोग

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतका लागि सरकारलाई ५० लाख रकम हस्तान्तरण गरेको छ । मंगलबार पार्टीकी उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव डोरप्रसाद उपाध्यायले पार्टीको आन्तरिक स्रोतबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि सहयोग गरिएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘अरु कहींकतै सहयोग मागिएको होइन । पार्टीकै आन्तरिक स्रोतबाट गरिएको हो । आन्तरिक स्रोत भनेको पार्टीकै नेता कार्यकर्ताबाट उठेको सदस्यता शुल्क, विशेष सहयोग, कोटा शुल्क, नवीकरण शुल्कलगायतबाट उठेको हुन्छ । केही दिनअघि बसेको पदाधिकारी बैठकले निर्णय गरेपछि हस्तान्तरण गरिएको हो ।’

कार्यालय सचिव उपाध्यायका अनुसार माओवादी केन्द्रले यसअघि विभिन्न विपद्का बेला जिन्सीका रुपमा सहयोग गरेको भए पनि आर्थिक रुपमा यति ठूलो रकम सहयोग गरिएको यो पहिलो पटक हो ।

कांग्रेसले पनि गर्‍याे ५० लाख सहयोग

अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्न सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनःस्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेपछि सहयोग रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकमको स्रोत के हो भन्ने प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टी सदस्यले सदस्यता शुल्कबापत जम्मा भएको रकमबाट भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गरिएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘५० लाख रुपैयाँमात्रै भूकम्प प्रभावितका लागि पर्याप्त नभएको भनेर फेरि पनि पार्टीका सबै तहका समितिलाई पार्टी केन्द्रको खातामा रकम जम्मा गर्न बुधबार नै अपिल गरेका छौं । त्यतिमात्रै नभएर संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिबाट पनि प्राप्त गर्ने सुविधाबाट केही प्रतिशत जम्मा गर्ने निर्णय पनि भएको छ ।’

यस्तै कांग्रेसले आफ्नो संघीय सांसदको १५ दिनको पारिश्रमिक पनि दिने निर्णय गरेको छ ।

नेकपा एसको २५ लाख सहयोग

नेकपा एकीकृत समाजवादीले पनि भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरे ।

पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले पार्टीका निर्वाचित जनप्रतिनिधिबाट रकम संकलन गर्नेगरी भूकम्प प्रभावितलाई सहयोग गरिएको नेपाल प्रेससँग बताए ।

उनका अनुसार अहिले भने सापटी लिएर कोषमा रकम जम्मा गरिएको हो । उपाध्यक्ष पाण्डेले भने, ‘हाम्रो पार्टीबाट संघीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाट एक महिनाको तलबको ५० प्रतिशत अर्थात १५ दिनको तलब जम्मा गरेर पार्टीले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग गरेको हो । अहिले सापटी गरेर जम्मा गरिएको छ । पछि त्यो जनप्रतिनिधिबाट रकम जम्मा भयो भने सापटी फिर्ता गर्छौं ।’

नेकपा एसको सोमबार बसेको सचिवालयले बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । उसले पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि साथै राजनीतिक नियुक्ति पाएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको थियो ।

साथै भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला संयोजक रहेको कार्यदलसमेत बनाइएको छ ।

एमालेले एक करोड बराबरको राहत वितरण गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग गर्ने आधिकारिक रुपमा घोषणा र निर्णय गरिसकेको छैन । पार्टीको बुधबार बसेको सचिवालय बैठकले पार्टीको जनशक्ति परिचालन गर्ने निर्णय गरे पनि यति नै रकम राहत कोषमा जम्मा गर्ने निर्णय भने नगरेको पार्टी सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘सचिवालय बैठकले नेकपा एमाले कर्णाली प्रदेश कमिटीको संयोजनमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै एक करोड बराबर सहयोग गर्ने घोषण गरिसक्नुभएको छ । अध्यक्षज्यूको घोषणाअनुसार सम्बन्धित विभागले काम गरिरहेको छ ।’

पार्टीका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विपत्तिमा परेकालाई सहयोग गर्न विभाग अग्रसर भएर लागेको नेपाल प्रेससँग बताए ।

विभागले पार्टीका नेता कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नून जस्ता खाद्य सामग्रीसँगै कम्बल र टेन्ट पनि तिवरण गर्न लागेको उनको भनाइ छ ।

दुगडले भने, ‘राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ । केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा किनिएको छ । पहिलो चरणमा दुई दिनभित्र र दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराउँदै छौं । दुई चरणमा एक करोड रूपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने तयारी छ ।’

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिव ६ करोड जम्मा

यसैबीच प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म करिव ६ करोड रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बुधबार साँझसम्ममा विभिन्न व्यक्ति तथा निकायबाट पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर