बुटवलका मेयरले पुराना कर्मचारी निकालेकोमा एमालेकाे आपत्ति – Nepal Press

बुटवलका मेयरले पुराना कर्मचारी निकालेकोमा एमालेकाे आपत्ति

रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी नगर सरकार चलाउन खोजेको र इगोका आधारमा पुराना कर्मचारी हटाएर आफू निकटलाई राख्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै मेयर पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानूनी काममा दबाब दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

‘मेयर पाण्डेले संविधान र कानूनविपरीत स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिँदै आफ्नो व्यक्तिगत तजविजमा कानूनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको बेला व्यक्तिगत इगोमा कर्मचारीलाई निष्कासन गरी आफ्नालाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दबाब दिएको भन्दै एमालेले विज्ञप्तिमार्फत उक्त कार्यप्रति खेद प्रकट गरेको छ ।

बहुमतको दम्भमा गरिने असंवैधानिक क्रियाकलापले सिंगो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

मंगलबारमात्र मेयर पाण्डेसँग खटपट परेपछि बुटवलका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल काठमाडौं गएका छन् । उनले बुटवलमा मेयरसँग मिल्न नसकेको जनाउँदै सबै ठाउँमा सबै जना फिट हुन नसकेका कारण आफू हिंडेको बताए ।

उनी बुटवलमा हाजिर भएको डेढ महिनामात्रै भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर