एमालेको ‘मध्य पहाडी लोकमार्ग यात्रा’को कसरी हुँदैछ व्यवस्थापन ? – Nepal Press

एमालेको ‘मध्य पहाडी लोकमार्ग यात्रा’को कसरी हुँदैछ व्यवस्थापन ?

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मकाे पदयात्रामा ओलीसहित डेढ सय बढी सहभागी हुने

कैलाली । नेकपा एमालेले आगामी महिना ‘मध्य पहाडी (पुष्पलाल) लोक मार्ग यात्रा’ थाल्ने तयारी गरेको छ । एमालेका दुई उपमहासचिवले लोक मार्ग यात्राको लागि प्रारम्भिक स्थानहरूको छनोटसमेत गरिसकेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको लागि उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको टोली झन्डै एक साताको स्थलगत निरीक्षण सकेर काठमाडौं फर्किसकेको छ । दुबै टोली काठमाडौं पुगेसँगै पदयात्राको विषयमा थप तयारी गरिएको छ ।

ज्ञवालीसहितको टोली धादिङबाट चिवाभञ्ज्याङसम्मको लोकेसन फाइनल गरेर काठमाडौं फर्किएको छ । रिमालसहितको टोलीले झुलाघाटदेखि धादिङसम्मको लोकेसन फाइनल गरेको छ ।

पदयात्राका क्रममा कुनै प्राविधिक समस्या हुन नदिन पूर्व र पश्चिममा छुट्टाछुटै दुई टोली बनाएर खटाइएको हो । दुबै टोलीले जिल्ला इन्चार्ज, अध्यक्ष तथा पदाधिकारी, प्रदेश पदाधिकारीसहित नेताहरूसँग समन्वय र छलफल गरेका थिए । पहिलो चरणमा लोकेसन र प्राविधिक तयारी गरेर फर्किएसँगै अब अन्य तयारीका विषयमा छलफल हुने पूर्वी टोलीमा रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

ज्ञवालीको नेतृत्वमा रहेको टोलीले पूर्वको पाँचथरमा २, तेह्रथुममा २, धनकुटामा १, भोजपुरमा २, खोटाङमा १, घुर्मीमा ३, सिन्धुलीमा २ र काभ्रेमा ३ जिल्लाको अन्तरक्रिया गरेको थियो । नुवाकोट र धादिङ बेसीमा १-१ वटा अन्तरक्रिया गरेर पदयात्राको स्थानीय तयारीबारे जानकारी लिने र दिने काम भएको थियो ।

पश्चिमको टोलीले बैतडी, अछाम र लमजुङमा २-२ वटा अन्तरक्रिया गरेको थियो । दैलेखमा ४, डडेल्धुरा र बागलुङमा ३-३ वटा अन्तरक्रिया गरेको रिमाल नेतृत्वको टोलीले डोटी, पश्चिम रुकुम र पूर्वी रुकुम, कास्की, पर्वत, गोरखा र धादिङमा पनि अन्तरक्रिया गरेको थियो ।

झुलाघाटबाट अघि बढेको टोली धादिङ बेसीसम्म पुग्दा करिब दुई दर्जन बढी स्थानमा अन्तरक्रिया गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनले स्थलगत निरीक्षणबाट महत्त्वपूर्ण तयारी गरेको र उक्त तयारीका विषयमा पार्टीको सचिवालय बैठकमा जानकारी गराइने बताए ।

उनले एमालेको पदयात्राले मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘ठूलो मात्रामा विकास बजेट पहाड केन्द्रित भइरहेको छ । तर, पहाड रित्तिँदै गइरहेको छ । युवा पलायन भइरहेका छन्’, पूर्वको स्थलगत निरीक्षणमा रहेका केन्द्रीय सदस्य किरण पौडेलले भने, ‘एमालेको अवधारणामा बनेको मध्य पहाडी लोकमार्गले अब एमालेकै नीतिअनुसार यहाँको जीवनस्तर सुधार गर्ने, सामाजिक र आर्थिक गतिविधि बढाउन पदयात्राले ठूलो भूमिका खेल्नेछ ।’

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट-चिवाभञ्ज्याङ यात्रा करिब १५ दिनमा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले १५ दिनको पदयात्रा गर्नेछन् । उक्त टोलीले जनतासँग साक्षात्कार गर्ने, समस्या र गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने बताइएको छ ।

‘सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने तयारी छ’, पौडेलले भने, ‘प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने योजना छ ।’

उनका अनुसार १५० देखि २०० जनाको केन्द्रीय टीमले पूर्व-पश्चिम पदयात्रा तय गर्नेछ । केन्द्रीय टीमको बसोबास र खानपानको व्यवस्थापनको जिम्मा स्थानीय टोलीले गर्नेछ । एउटा स्थानबाट अर्को स्थानसम्म सम्बन्धित जिल्लाले पुर्‍याउने र त्यहाँ अर्को जिल्लाको टीम स्वागत गर्न बस्नेगरी तयारी थालिएको छ ।

मङ्सिरमा पदयात्रा सुरु गर्ने जनाइए पनि मिति तोकिएको छैन । सचिवालय बैठकले अन्य तयारी र मिति निर्धारण गर्नेछ । एमालेले भोलि सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा डाकिएको सचिवालय बैठकले मध्य पहाडी पदयात्राको तयारीका विषयमा निर्णय गर्ने बताइएको छ ।

एमाले उपमहासचिव ज्ञवालीले सचिवालय बैठकमा प्रतिवेदन पेश गर्ने र पदयात्राको मिति तय हुने जानकारी दिए । ‘हामीले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेका छौं, कहाँ कसरी पदयात्रा गर्ने ? कुन रुट प्रयोग गर्ने भन्ने विषय प्रतिवेदनमा छ’, उनले भने, ‘प्रतिवेदन हेरेर थप सुझावसहित मिति तय हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर