कोहलीलाई आउट नदिइएको त्यो बल, शतकका लागि डीआरएस तोडमोड गरिएको आरोप – Nepal Press

कोहलीलाई आउट नदिइएको त्यो बल, शतकका लागि डीआरएस तोडमोड गरिएको आरोप

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले आफ्नो करिअरको ४९ औं शतक हिजो दक्षिण अफ्रिकाविरुद्ध पूरा गरे, त्यो पनि आफ्नो जन्मदिनमा । उनको यो किर्तिमानी शतक विवादमुक्त भने हुन सकेन ।

भारतीय समर्थकहरुले कोहलीको कोसेढुंगाको खुशीयाली मनाइरहँदा आलोचकले भने यसलाई ‘योजनाबद्ध’ मानेका छन् । उनीहरुको भनाइमा कोहलीले शतक बनाउन नै खेलेका थिए र यसमा प्रविधिको समेत दुरुपयोग भएको छ । खासगरी खेलको २१.१ ओभरमा कोहलीलाई दिइएको नटआउट निर्णयमाथि प्रश्न उठेको हो ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले अफ स्टम्पमा फ्याकेको बलमा टर्न हुँदा कोहली पूर्ण रुपले बिट भएका थिए । यद्यपि बलले उनको ब्याटको किनारामा छोएको आशंका थियो । दक्षिण अफ्रिकाका खेलाडीहरुले कट बिहाइन्डका लागि कडा अपिल गरे । तर, अनफिल्ड अम्पायरले दिएनन् । कप्तान तेम्बा वभुमाले तत्काल रिभ्युको माग गरे ।

डीआरएसले विवादास्पद निर्णय दियाे । बलले ब्याटमा लागेको आवाज पनि सुनिएको थियो भने स्लो मोसनमा हेर्दा बल र ब्याटबीच कुनै ग्याप नरहेको देखिन्थ्यो । टेलिभिजन लाइभमा अल्ट्राएज दुई थरि देखाइयो । सुरुमा अल्ट्राएजमा स्पाइक देखिएको थियो । तर, तत्काल त्यो परिवर्तन भएर क्लीन आयो । थर्ड अम्पायरले नटआउट निर्णय दिए । ब्याटले प्याडलाई छोएर आवाज आएको उनको निष्कर्ष थियो ।

ब्याटको किनाराले बललाई छोएको छ कि छैन भनेर हेर्न अल्ट्राएज टेक्नोलोजीको प्रयोग गर्ने गरिएको छ । यो सिंकोमिटरको आधुनिक संस्करण हो । यो प्रविधिले स्टम्पहरुभित्र राखिएको माइक तथा पित र मैदानभरि जडान गरिएका क्यामराहरुको प्रयोग गर्छ । जब बलले ब्याटलाई छुन्छ, त्यसबाट एउटा खास आवाज आउँछ, जुन विकेटभित्रको माइकले पहिचान गर्छ र ट्र्याकिङ स्क्रिनमा देखाउँछ ।

स्टम्पभित्रको माइकले ब्याट र प्याडबाट आउने आवाजको अन्तर छुट्याउने क्षमता राख्छ । जब बल ब्याट नजिक आउँछ, मैदानको विपरीत दिशामा राखिएका क्यामराहरुले त्यसलाई ट्र्याक गर्छन् । माइकभित्रको माइक्रोफोनले बलले ब्याटलाई छोएको आवाजलाई एउटा ओसिलोस्कोपमा पुर्‍याउँछ । ओसिलोस्कोपले ध्वनि शक्तिलाई तरंगमा परिणत गर्छ र यदि छोएको छ भने त्यो स्क्रिनमा देखिन्छ । छोएको छैन भने सीधा रेखामात्रै आउँछ ।

यतिबेला कोहली ३७ रनमा खेलिरहेका थिए भने भारतले दुई विकेट क्षतिमा १२४ रन बनाएको थियो । रन बनाउन कठिन पिचमा कोहलीको विकेट दुवै टीमका लागि महत्वपूर्ण थियो । अर्कोतिर कोहली आफ्नो जन्मदिनमा शतक बनाउन र सचिन तेन्दुलकरको रेकर्ड बराबरी गर्न व्यग्र थिए । अन्ततः डीआरएसले उनलाई जीवनदान दियो । यो जीवनदानपछि दक्षिण अफ्रिकी विकेटकिपर क्वीन्टन डिक र कोहलीबीच नोकझोक पनि भएको थियो ।

यसलाई लिएर थुप्रैले प्रश्न उठाइरहेका छन् । खासगरी पाकिस्तानी मिडियाहरुमा निकै हल्लीखल्ली छ । एक पाकिस्तानी खेल पत्रकारले भनेका छन्, ‘यदि भारतबाहेक अरु देशका खेलाडी थिए भने सहजै आउटको निर्णय दिइने थियो । प्रविधिलाई बीसीसीआईले आफ्नो हातमा लिएको छ र हरेक पटक भारतीयको फेभरमा निर्णय भइरहेको छ ।’

हिजोकै म्याचमा दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान हेनरिच क्लासेनलाई दिइएको आउटको निर्णयमा पनि विवाद भएको छ । १२.६ ओभरमा रवीन्द्र जडेजाले फ्याकेको बललाई स्वीप गर्न खोज्दा क्लासेन बिट भएका थिए । केही भारतीय खेलाडीले आउटको अपिल गरे । तर, अम्पायरले दिएनन् । भारतीय कप्तान रोहित शर्मा स्वयम् विश्वस्त थिएनन् आउट भएकोमा । तर, बलर र विकेटकिपरले दबाब दिएपछि उनी रिभ्यु लिन तयार भए ।

रिभ्युको परिणाम विवादास्पद आएको केही विश्लेषकको भनाइ छ । बल लेग स्टम्पभन्दा थोरै बाहिर बाउन्स भएको थियो । यस्तोमा सामान्यतया अम्पायर कल हुनुपर्थ्याे । त्यसपछि हक आइमा बलले लेग स्टम्पलाई बाहिरबाट छुनसक्ने देखाइयो र क्लासेनलाई आउट दिइयो । क्लासेनले विश्वास गर्न सकेनन् । तर, क्रिजबाट बाहिरिनुको विकल्प थिएन ।

यसअघि भारत र इङ्ग्ल्यान्डको खेलमा पनि इङ्ग्ल्यान्डका जोयरुटलाई विवादास्पद रुपमा आउट दिइएको थियो । अल्ट्राएजमा स्पाइक देखिँदा पनि रुटलाई एलबीडब्लु आउट दिइएको थियो ।


प्रतिक्रिया

One thought on “कोहलीलाई आउट नदिइएको त्यो बल, शतकका लागि डीआरएस तोडमोड गरिएको आरोप

  1. पाकिस्तानीको पनि कुरा गर्नु भन्या।एउटा पाकिस्तानीले यति सम्म भन्यो कि icc ले लुकायर अर्कै बल दिइरहेको छ भनेर।फटाहाहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *