महसुल नतिरेपछि काटियो गण्डकीमा भौतिक मन्त्रालयको बिजुली – Nepal Press

महसुल नतिरेपछि काटियो गण्डकीमा भौतिक मन्त्रालयको बिजुली

पोखरा । विद्युत महसुल नतिरेपछि नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ । ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ ।

‘मन्त्रालयको धेरै बक्यौता थिएन । तर, ६० दिन काटिसकेको थियो । त्यसपछि हामीले बिजुली लाइन काटिदिएका हौं,’ सिंहले भने, ‘मन्त्रालयको माथि सोलार छ, विद्युतको लाइन नभए पनि सस्टेन गर्न सक्छ । तर, उनीहरूलाई लाइन काटिएको थाहा छैन होला । सोलारले जबसम्म धान्छ, धान्छ । त्यसपछि थाहा पाउँछन् ।’

तर, मन्त्रालयलाई भने त्यसको असर परेन । दिनभर नियमित दिन झैँ काम भइरह्यो । मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ । त्यसकारण एक फेजको लाइन काटिए पनि अर्को फेजबाट आपूर्ति भएको जानकारी मन्त्रालयले दियो ।

तर, प्राधिकरणले सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ । मन्त्रालयको माथि सोलार प्यानल राखिएको छ । सोही प्यानलबाट सौर्य उत्पादित सौर्य ऊर्जाको आपूर्तिका कारण मन्त्रालयले नै लाइन काटिएको थाहा नपाएको हो ।

बिजुली काटिएपनि मन्त्रालयमा कहीँ समस्या नभएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जिकीर गरे । ‘म कार्यालय नपुग्दै आएर गएछन्, यहाँ सर्भिस डिस्टर्ब छैन । मन्त्रालयदेखि क्वार्टरसम्म चलिरहेको छ ।

‘हाम्रोमा दुईवटा फेज छ । तीन फेजमा गएपछि हामीले दुई फेज डिस्कनेक्ट गरेका थिएनौं, त्यसकै बाँकी रहेछ,’ उनले भने, ‘प्राधिकरणको लेखा शाखाले प्रयोग नभएको फेजमा बक्यौता देखिएको बताएको छ ।’ मन्त्रालयले मन्त्री क्वार्टर, सचिव क्वार्टर र मन्त्रालयको महसुल तिर्ने गर्छ ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १ सय ७ ग्राहकको लाइन शनिबार काटेको थियो । १ सय ७ ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले पाँच लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुनः जोडिएको प्राधिकरणले जनाएको छ ।

साउनयता १२ हजारबढीको लाइन काटियो

पोखरा वितरण केन्द्रमा हाल ५७ हजार उपभोक्ता छन् । त्यसमध्ये वितरण केन्द्रले गत साउन यता बिद्युत महसुल नबुझाउने १२ हजारबढीको लाइन काटिसकेको छ ।

वितरण केन्द्रका सूचना अधिकारी प्रदीपकुमार भुवाजीका अनुसार केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काट्ने र महसुल बुझाएपछि जोड्ने गरेको छ । ‘प्राधिकरणले लाइन काट्ने र बक्यौता बुझाएपछि पुन जडान गर्ने काम निरन्तर नै हुन्छ । तर, बक्यौता लिने रकम बढ्दै गएपछि अभियान नै चलाएको हो,’ भुवाजीले भने ।

पोखरा वितरण केन्द्रले ३४ करोड बक्यौता बापतको रकम उठान बाँकी रहेको सूचना अधिकारी भुवाजीले बताए । ‘पोखरा वितरण केन्द्रबाट उठ्नुपर्ने ३४ करोड रुपैयाँमध्ये २२ करोड सरकारी निकायबाट उठ्न बाँकी हो । जसमध्ये २० लाख कास्की कारागारकै छ,’ उनले भने, ‘कास्कीमा रहेका प्रहरी कार्यालयहरुको पनि बक्यौता उठ्न बाँकी छ । अन्य रकम प्राइभेट सेक्टरको रकम हो ।’

सरकारी कार्यालयमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाबाट उठाउन बाँकी छ । सडक बत्ती बापत पोखरा महानगरले ११ करोड रूपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।यसअघि वितरण केन्द्रले आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत कास्की र भूमि व्यवस्थापन कार्यालयको लाइन काटेर जडान गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर