पर्यटकको पर्खाइमा रहेको बाजुराको छेडेदह ताल (तस्बिरहरू) – Nepal Press

पर्यटकको पर्खाइमा रहेको बाजुराको छेडेदह ताल (तस्बिरहरू)

बाजुरा । उत्तर पश्चिम दिशाबाट हेर्दा मुटुको आकारमा देखिने बाजुराको छेडेदह ताल सुन्दरताको एक अनुपम उपहार हो । धर्तीको स्वर्गको रूपमा परिचित खप्तड र सुन्दर यही तालको नामबाट यस पालिकाको नाम पनि खप्तड छेडेदह गाउँपालिका राखिएको छ ।

आटीचौरबाट पैदल यात्रा १ घण्टा, मोटरसाइकल वा जिप मार्फत करिब ४५ मिनेटमा यहाँ सम्म पुग्न सकिन्छ । बाजुरा बुडिगंगा नगरपालिका २ बल्देबाट करिब १ घण्टामा आटिचौर पुगिन्छ । बल्दे धनगढी-मार्तडी सडक खण्डमा अवस्थित छ । भौगोलिक विकटकाका कारण मनमोहक र रमणीय ताल भए पनि अहिले सम्म यहाँ पर्याप्त पर्यटक भने पुग्न सकेका छैनन् । तर, यहाँ पुग्ने पर्यटकहरू आनन्द महसुस गर्छन् ।

यसको पश्चिमको उकालोमा अजैमरे नामको चौतारो छ । डोगडीबाट उक्लिँदा यस चौतारामा थकाई नमेटेर कुनै बटुवा पनि अगाडी बढ्दैनन् ।

दक्षिणतिर रहेको घना पारिपातल सामुदायिक वनले दहको शोभा मात्र होइन, यस वरिपरिको वातावरण अनुकूल बनाउन सहयोग पुर्‍याएको छ । दहको वरिपरि चारैतिर दुवोको चौर छ । वर्षा महिनामा यो दुवोको हरियालीले कुनै व्यवस्थित पार्कको झलक दिन्छ ।

छेडेदहबाट नजिकको रमणीय स्थल भनेको छान्नीको लेक, बाजुरा र बझाङको सिमानामा रहेका जोराजोरीका जेठी वहुरानी हिमालयको दृश्य हेरेरै नथाकिने जस्तो छ । यस स्थानबाट बाजुराको सर्वोच्च शिखर (चौध हजार पाँच सय फिट) वडीमालिकाको सेताम्य चुचुरोमा बिहानै झुल्कने सूर्योदयका किरणले जोसुकैलाई पनि मोहित बनाउँछ ।

यस दहको दक्षिण–पश्चिम तिरबाट जोडिएर फैलिएको विशाल घना जङ्गल छ । यस वनमा बाँझ, लालीगुराँस, उत्तिस प्रजातिका रुखहरू छन् भने जङ्गली जनावरमा चितुवा भालु, मृग, स्याल, ब्वाँसो, वन बिरालोको लगायतका कयौँ जनावरहरू छन् । पंक्षीहरुमा मुख्यतः कालिज, तित्रा, कोइली, जुरेली पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसले पूरै जङ्गल रातै देखिन्छ । दक्षिणतिरको अग्लो डाँडामा गएर हेर्दा देखिने बाजुराको सब भन्दा ठूलो नदी बुढीगङ्गा, खप्तडको दृश्यले हेरिरहौँ लाग्छ ।

छेडेदहको पूर्वी छेउमा स्थानीय खापर देवताको मन्दिर छ । वर्षमा दुई पटक भदौ कृष्ण पक्षमा र पौष कृष्ण पक्षमा मेला लाग्छ । स्थानीय देउडाले मनोरञ्जन गर्नेको संख्या मनग्य हुन्छ । यसै गरी कार्तिक वाली र ज्येष्ठ वाली भित्र्याउँदा पनि पूजा हुन्छ । यस देवताको नाममा यी भक्तहरूले आफ्नो घरमा बस्तुभाउ फलोस् भनी गाई, भैँसी भाकल गर्ने चलन छ ।

सुन्दर ताल मात्रै यहाँको विशेषता होइन । पर्यापर्यटन र धार्मिक पर्यटनका दृष्टिकोणले पनि देडेदल तालको महत्त्व बढिरहेको छ । पछिल्लो समय खप्तड देडेदल गाउँपालिकाले संरक्षण र प्रचार प्रसारमा लागि रहेको छ । तर, केन्द्र र प्रदेश सरकारबाट पनि यसको महत्त्व झल्काउन सके यो ताल नयाँ र उपयुक्त गन्तव्यको रूपमा विकास हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *