प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न सरकारको आग्रह – Nepal Press

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले भूकम्पबाट भएको क्षतिको उद्धार तथा राहतका लािग सहयोग गर्न इच्छुकलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह गरेको हो ।

विपद्‌को दुखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सबै महानुभाव एवम् संघसंस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यस्तो संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुक सबैलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गरिएको हो ।

कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । कार्यालयले विज्ञप्तीमार्फत नै भूकम्पका कारण मृत्यु हुने नागरिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *