देउवा र शेखरलाई संकेत गर्दै गगनले भनेः फोहोर गर्ने बेला एक्लै गर्ने, सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला – Nepal Press

देउवा र शेखरलाई संकेत गर्दै गगनले भनेः फोहोर गर्ने बेला एक्लै गर्ने, सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला

पोखरा । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका एकएक मन्त्री सरकारमा समावेश गरेसँगै कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार पुनः एकपटक धरमराएको छ । माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भएसँगै एमाले सरकार छोड्ने तयारी गरेको छ ।

एमाले सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यथास्थितिमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ । कार्कीले विश्वासको मत लिन नसकेमा ६ महिनाभित्र कोशीमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

कोशी प्रदेशको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जिम्मा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले लिनुपर्ने बताएका छन् । पोखरामा शनिबार पत्रकारसम्म कुरा गर्दै महामन्त्री थापाले कोशी प्रदेशमा सभापति र वरिष्ठ नेताले समस्या ल्याएको भन्दै सबै हल उनीहरुले नै गर्नुपर्ने बताएका हुन् ।

‘कोशी प्रदेशको जिम्मा पार्टीको सभापति र वरिष्ठ नेताले लिनुपर्छ । यसको सबै हलहरु चाहिँ के गर्ने भन्ने कुरा उहाँहरु गर्नुहुन्छ । मैले सभापतिलाई घरै भनेर आएको हुँ –तपाईंले गरेको फोहोर हो । तपाईंले सोहोर्नुपर्छ । फोहोर गर्ने बेलामा एक्लै गर्ने सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला,’ उनले भने, ‘मैले सोर्न सकिन भन्नुभयो भने सार्न हामी जान्छौं । नभएको हुनाले उहाँहरुले नै सोर्नुपर्छ ।’

नेपालका दलहरुमा गठबन्धन सरकार सञ्चालन गर्ने संस्कार नै बस्न नसकेको महामन्त्री थापाले जिकीर गरे । चुनावअघिको गठबन्धन काङ्ग्रेसका लागि घातक बनेको उनको दाबी छ । उनले भने, ‘म जहाँ जहाँ पुगेँ, सबैतिर चुनावअघि गठबन्धन गर्नुहुन्न भन्ने आएको छ । निर्वाचनपछि सरकार बनाउन गठबन्धन सामान्य रहे पनि निर्वाचनकै बेला गठबन्धन गर्नै हुँदैन ।’

शुक्रबार राति आएको भूकम्पबाट भएको क्षतिलाई कम गर्न पुनर्निर्माण जोड दिन प्रदेश सरकारलाई आग्रह गरे । ‘कोरोनका कहरका बेला प्रदेश सरकारहरु चुकेको छ । अहिलेको भूकम्पले भविष्यमा हुन सक्ने क्षतिको संकेत गरेको छ । यसलाई पाठको रुपमा लिएर पुनर्निर्माण र योजना बनाउनुपर्छ,’ उनले भने ।


प्रतिक्रिया

One thought on “देउवा र शेखरलाई संकेत गर्दै गगनले भनेः फोहोर गर्ने बेला एक्लै गर्ने, सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर