भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति, घाइतेले अस्पताल भरियो – Nepal Press

भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति, घाइतेले अस्पताल भरियो

रुपन्देही । गएराती जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म ८० जनाको मृत्यु भएको र यो संख्या अझैबढ्ने प्रहरीले बताएको छ भने करिब दुई सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पमा परेर नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घटनामा मृत्यु हुनेहरुमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए ।

साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको हो ।
मृत्यु हुनेमध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।

यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *