जसपाको प्रशिक्षण- सैद्धान्तिक आधार अन्य राजनीतिक दलबीच भिन्नताबारे छलफल – Nepal Press

जसपाको प्रशिक्षण- सैद्धान्तिक आधार अन्य राजनीतिक दलबीच भिन्नताबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेशस्तरीय प्रशिक्षण गरेको छ । आज बागमती प्रदेश समितिले काठमाडौंमा एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेको हो ।

सुकेधारास्थित एसआर क्याटरिङमा आयोजित प्रशिक्षण कार्यक्रमका पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले प्रशिक्षण दिएका छन् ।

जसअनुसार पार्टी अध्यक्ष यादवले जसपाको सैद्धान्तिक आधार, जसपा र अन्य राजनीतिक दलहरुबीचको भिन्नताका विषयमा प्रशिक्षण दिए ।

संघीय अध्यक्ष अशोककुमार राईले वर्तमान नेपालको राजनीतिक अवस्थाका साथै पार्टीको आगामी रणनीति र कार्यभारका सन्दर्भमा प्रशिक्षण दिए । त्यस्तै विधान अधिवेशनका निष्कर्षहरु, पार्टी निर्माणको दिशा, सांगठनिक संरचना र सदस्यहरुको भूमिका र उत्तरदायित्व विषयमा नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशमा बसोबास भएका र बागमती प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु बागमती प्रदेश अन्तर्गतका गठन, पुनर्गठन भइसकेका संगठन र समितिका प्रतिनिधि सहभागी रहेका थिए ।

जसपाले केही प्रदेशमा यस अघि नै प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गरिसकेको छ भने मधेस प्रदेश समितिको आयोजनामा यहि कार्तिक २० गतेदेखि ३ दिने प्रशिक्षक प्रशिक्षण शिबिर सञ्चालन हुन लागेको छ ।

जसपाले सञ्चालन गरेको तिन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण, संगठन गठन, पुनर्गठन तथा सदस्यता बितरणको कार्य समेत गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर