उपाध्यक्षबाट कार्यकारी कुटिएपछि शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प, सबै पालिकाका कर्मचारीद्वारा कारबाही माग – Nepal Press

उपाध्यक्षबाट कार्यकारी कुटिएपछि शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प, सबै पालिकाका कर्मचारीद्वारा कारबाही माग

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले हातपात गरेपछि उनलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

आफूले चाहेअनुसारको गाडी नपाएको भन्दै बिहीबार दिउसो कार्यकक्षमै उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गर्दै गालीगलौज गरेपछि त्यहाँका सबै कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेका छन् । पालिकाका सबै काम रोकेपछि सेवाग्राही मारमा परेका हुन् ।

कर्मचारीलाई त्यहाँका पालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधिले समेत साथ दिएका छन् । उपाध्यक्षलाई पक्राउ गरी कारबाहीको माग गर्दै अध्यक्ष कमलेशशरण चौधरी र अधिकृत ज्ञवालीले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा बिहीबार नै निवेदन दिएपनि शुक्रबारसम्म उपाध्यक्ष चौधरी कुर्मी पक्राउ परेका छैनन् । प्रक्रिया पु¥याएर उपाध्यक्षलाई कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनाएका छन् ।

जिल्लामा रहेका १० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले पनि उपाध्यक्षलाई कडा कारबाहीको माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि यो विषय थप पेचिलो बनेको छ ।

बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यक्रममा प्रवेश गरेर उपाध्यक्षले हातपात गरी गालीगलौज गरेका थिए । वादविवादका क्रममा ज्ञवालीको टेवुलको सिसा पनि फुटेको छ । गाडी चहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले बताए ।

तर उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोक आदेश गर्दा बेवास्ता गरेका र कामविशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको दावी गरेका छन् । यहाँ पालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद भएकाले समयमै बजेट समेत आएको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *