राष्ट्रिय सभा चौधौं अधिवेशन- ६ महिनामा चार विधेयक पारित – Nepal Press

राष्ट्रिय सभा चौधौं अधिवेशन- ६ महिनामा चार विधेयक पारित

काठमाडौं । करिब ६ महिना चलेको राष्ट्रिय सभाको चौधौं अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । प्रतिनिधि सभाले बजेट बाहेक एउटा विधेयक मात्रै पारित गर्दा राष्ट्रिय सभाले भने चार वटा विधेयक पारित गरेको छ ।

राष्ट्रिय सभाको चौधौ अधिवेशन बिहीबार अन्त्य भएको जानकारी गराउदैँ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस चालू अधिवेशनमा राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ दुवै सभाबाट पारित भई प्रमाणीकरणसमेत भइसकेको जानकारी गराए ।

उनका अनुसार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत भएको थियो भने उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक राष्ट्रिय सभामा पेश भएको थियो ।

यसैगरी यसै अधिवेशन अवधिमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० र गैरसरकारी विधेयकको रुपमा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको छ भने चौथो अधिवेशनको अन्तिम बैठकबाट विद्युतीय व्यापार विधेयक, २०८० पारित गर्दै सन्देशसमेत प्रतिनिधि सभामा पठाइएको छ ।

अधिवेशनले बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० दुवै सभाबाट पारित गरेको छ ।

राष्ट्रिय सभाले विधायन सम्बन्धी विधेयक, २०८० र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सभाको एघारौं अधिवेशन अवधिमा दर्ता भएको कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ यसै अधिवेशन अवधीमा फिर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ प्रस्तावक र २१ जना सांसद समर्थक भई दर्ता भएको ‘अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव’ सभामा छलफल भई सर्वसम्मतबाट स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको चौधौं अधिवेशनको पहिलो बैठक गत वैशाख २४ गते आइतबार अपरान्ह चार बजे सुरु भएर कात्तिक १६ गते बिहीबारसम्म जम्मा १८० दिन अन्त्य भएको छ । यस अवधिका ३९ दिनमा ४८ वटा बैठक बसेर जम्मा ७१ घण्टा ११ मिनेट सभाको काममा खर्च भएको छ ।

यस अधिवेशन अवधिमा ११ वटा बैठकमा शून्य समय सञ्चालन गरिएको थियो । उक्त शून्य समयमा ३९ जना सांसदले एक घण्टा २६ मिनेट समय उपयोग गरेका थिए । अधिवेशनका ६ वटा बैठकमा विशेष समय रहेकामा ३७ जना सांसदले आठ घण्टा नौ मिनेट समय उपयोग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *