बालेनले बहिष्कार गरेर हिँडेको बैठकमा के भएको हो ? आयोजक उपमेयरले खुलाइन् वास्तविकता – Nepal Press

बालेनले बहिष्कार गरेर हिँडेको बैठकमा के भएको हो ? आयोजक उपमेयरले खुलाइन् वास्तविकता

बुढानीलकण्ठकी उपमेयर अनिता लामाको प्रश्न- मेयर बालेन शाहका विकृत अभिव्यक्ति र गैर जिम्मेवार स्टन्टबाजी कहिलेसम्म सहने ?

काठमाडौं । काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरू सम्मिलित मेयर्स फोरमको मंगलबाररको बैठक सुरू हुनासाथ काठमाडौं महानगरका मेयर बालेन शाह रिसाएर हिँडेको चर्चा चलिरहेका बेला आयोजक नगरपालिकाकी उपमेयरले मुख खोलेकी छन् ।

मेयर्स फोरमको बैठक आयोजक नगरपालिका बूढानीलकण्ठकी उपमेयर अनिता लामाले बिहीबार वक्तव्य जारी गर्दै सत्य तथ्य खुलाएकी हुन् । बैठक बुनपाको पार्क भिलेजमा आयोजना भएको थियो ।

लामाका अनुसार बैठक सुरू हुन नपाउँदै बालेन शाहले ‘एक छिन एक छिन’ भनेर हात उठाएको र अध्यक्षता गरिरहेका चिरिबाबु महर्जनले एजेण्डामा गएर छलफल गरौँ भनेपछि बालेन जुरुक्क उठेका थिए ।

लामाले आफ्नो वक्तव्यमा मेयर बालेन शाहको अघेल्याईँ औंल्याउँद उनले बिहीबार साँझ फेसबुकमार्फत दिएको अभिव्यक्ति र अरू नगरपालिकालाई बिकाऊ भनेकोमा समेत आपत्ति जनाएकी छन् ।

उपमेयर लामाले मेयर शाहको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै बैठकको न्यूनतम मर्यादा पालना नगर्ने तथा सबै चोर, देश बेचुवा अनि काठमाडौं बिक्रीमा छैन जस्तो विकृत अभिव्यक्ति दिने छुट उनले कहिलेसम्म पाइरहने भन्ने प्रश्न समेत उठाएकी छन् ।

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनलाई आयोजक बुढानिलकण्ठ नगरपालिकामा स्वागत गर्दै मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामा

लामाले महानगर प्रमुखको गैर जिम्मेवार स्टन्टबाजी कहिलेसम्म हेरिरहने भन्ने प्रश्न उठाउँदै बैठकमा भएको वास्तविकता यसरी बताएकी छन् ।

काठमाडौँ महानगर मेयरज्यूको स्टन्ट र मेयर्स फोरम पाँचौँ बैठकको सत्य तथ्य !

काठमाडौं महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो । 

बैठकमा सबैको आसन ग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखेँ । त्यसपछि राष्ट्रिय गान गाइयो । त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो । 

त्यतिबेलै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले ‘एक छिन एक छिन’ भनेर हात उठाउनुभयो । 

बैठकका अध्यक्षज्यूले एजेन्डामाथि जाऊँ अनि त्यसमाथि व्यापक छलफल गरौँ भन्ने प्रस्ताव राखिरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरुक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो । 

बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले एजेण्डा निर्धारण गरेको र पहिला एजेण्डामाथि नै प्रवेश गरौँ त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो । 

लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो । 

बैठक एजेन्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो । 

नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सीधै प्रश्न एवम् प्रस्तुति गरी अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ । नेपवेष्ट भने काठमाडौं महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ । 

नेपवेष्टले पनि विस्तृत रूपमा काठमाडौं उपत्यकाभरिका सबै पालिकामा आफ्नो कुरा राख्ने एक पटक अवसर खोजेको रहेछ । त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौँ । 

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिस केही गरिएको छैन । १३ वर्षसम्म अल्झिएको जटिलताको विषयमा सुसूचित मात्रै हुने काम भयो । 

तर, मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु । 

बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौं बिक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ?

नेपवेष्टसँगको विषय टुङ्ग्याउन  स्वयं काठमाडौँ महानगर बढी जिम्मेवार हुनुपर्ने बुझियो । तर, महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?


प्रतिक्रिया

4 thoughts on “बालेनले बहिष्कार गरेर हिँडेको बैठकमा के भएको हो ? आयोजक उपमेयरले खुलाइन् वास्तविकता

  1. एजेण्डामा छलफल हुन त बैठक नै बैध र आफैंले आयोजना गरेको हुनुपर्यो नि । निजी कम्पनिले पैसा तिर्ने, भत्ता दिने, जाँड खुवाउने अनि आफ्ना एजेण्डा पास गर्ने । बैठक नै बिकाउ भए पछि त्यो रोक्न वा नभए आफू भाग नलिन त पहिला नै बोल्नुपर्यो नि बिकाउ मेयर उपमेयरहरू । बालेनले ठिक गरे । हरेक क्षेत्रमा यो बिकृति छ । बालेनलेजस्तै बिद्रोह गरौं र दलालहरूलाई चक्मा दिउँ ।

    1. बालेनले जे गर्याे ठीक गर्याे । गलत उद्येश्य र गलत दिशा तर्फ उन्मुख बैठकलाई नीयन्त्रण गर्न गरेकाे कामका लागि बालेनलाई धेरै धेरै धन्यवाद !

  2. राजनितिक अराजक्ता र विदेशी आइ एन्जिओको तलब भत्ता खादै आइरहेका चोरहरुको विकाउ नितिचाही हामी नेपाली जनताले कहिले सम्म सहिरहनु पर्ने लामा जि ? जे गर्यो जेगरी रहेको छ मेयर बालेन्द्र साह ले ठिक गरिरहेको छ । हामी जनताले पनि जान्न बुझ्न पाइरहेको छौ दलालहरुको असली रुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर