‘महाजात्रा’को विजयश्वरी मन्दिरमा शुभ मुहूर्त – Nepal Press

‘महाजात्रा’को विजयश्वरी मन्दिरमा शुभ मुहूर्त

काठमाडौं । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो शृङ्खला ‘महाजात्रा’को बुधवार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त र छायांकन सुरु गरिएको छ ।

निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट सुरु भएको जानकारी दिएको हो ।

विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका थिए । चार घण्टा चलेको पूजामा सिनेमाको ‘कास्ट एण्ड क्रिउ’ सहभागी थियो । पूजापछि मुहूर्त समारोह गरियो । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ । ४५ दिनको छायांकन सेड्युल तय गरिएको सिनेमालाई काठमाडौं र जनकपुरमा खिचिनेछ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमाको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए ।

‘महाजात्रा’ बटमलाइनको रूपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईले यो सिनेमामा बहुघटनाको कथावस्तु चित्रण हुने बताए । ‘एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

तेस्रो शृङ्खलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको उनले बताए । निर्देशक भट्टराईले भने, ‘जात्रा भनेको एउटा अराजकता पनि हो । यही जात्रालाई राम्रोसँग मनाउन सके सेलिब्रेसन हुन्छ । यी चीजहरू सिनेमा भित्र हुन्छ । महाजात्रामा पनि नसोचेको कुरा भइदिन्छ ।’ कथावस्तु अनुसार कलाकारलाई कास्ट गरिएको निर्देशक भट्टराईले बताए । ‘सिनेमामा कलाकारलाई हाल्नको लागि लिएका होइनौँ । पटकथाको संरचना बनाइसकेपछि कास्ट गरिएको हो,’ उनले भने ।

शुभ मुहूर्त अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले उत्साह व्यक्त गरे । हरिवंश क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए । सिनेमामा हरिवंश र विपिनका अलवा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ ।

आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको सिनेमाको निर्मातामा म्याक्स दीपेश खत्री छन् । निर्माता खत्रीले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरूले मेहनत गर्ने बताए । सिनेमाको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्वन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपकप्रताप अधिकारी र भारत बाहेकको विदेश रिलिज एमएसएम इन्टरटेनमेन्टले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर