सचिव रेग्मी र थापा अनिवार्य अवकाशमा, बढुवाका लागि चार सहसचिवको नाम सिफारिस – Nepal Press

सचिव रेग्मी र थापा अनिवार्य अवकाशमा, बढुवाका लागि चार सहसचिवको नाम सिफारिस

काठमाडौँ । राजपत्रांकित विशिष्ट श्रेणी सचिवबाट दुईजना अनिवार्य अवकाशमा गएका छन् । प्रशासन सेवातर्फका सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मी र प्राविधिक सेवातर्फका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनजंग थापा अनिवार्य अवकाशमा गएका हुन् ।

५८ वर्षे उमेर हदका कारण रेग्मी कात्तिक ११ गतेदेखि र थापा कात्तिक ६ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् । सचिव रेग्मी २०७८ असार १७ गते सचिवमा बढुवा भएका थिए ।

ज्येष्ठताको आधारमा एकल सिफारिसमा परेका रेग्मीलाई असार १४ गते बसेको बढुवा सिफारिस समितिको नाम सिफारिस गरेको थियो । त्यस्तै केहि दिनका लागि मात्रै सचिव बनेका थापा असोज १४ गते मात्रै सचिवमा बढुवा भएका थिए । उमेर अवधिका कारण कात्तिक ६ गतेदेखि थापा अनिवार्य अवकाशमा गएका हुन् ।

सचिवमा बढुवाका लागि चार जना सहसचिव सिफारिस

यसैविच प्रशासन सेवातर्फ एक जना र प्राविधिक सेवातर्फ एक जना गरेर रिक्त रहेको दुई सचिव पदमा बढुवाका लागि चार जना सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक जनाका लागि तीन जना र प्राविधिकतर्फ एक जनाका लागि एक सहसचिवको नाम मात्रै सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिका अनुसार प्रशासन सेवातर्फ रिक्त एक सचिवका लागि सहसचिव राधिका अर्याल, चूडामणि पौडेल र डा.हरिप्रसाद लम्सालको नाम सिफारिस भएको छ भने प्राविधिक सेवातर्फ ज्येष्ठताका आधारमा सहसचिव विश्वबाबु पुडासैनीको नाम मात्रै सिफारिस भएको हो ।

प्रशासन सेवातर्फ पहिलो नम्बरमा सिफारिस भएकी सहसचिव अर्याल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम मुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् भने भने पौडेल कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम मुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् । यस्तै तेस्रो नम्बरमा सिफारिस परेका डा.लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

प्रशासन सेवातर्फ रेग्मीको ठाउँमा रिक्त हुन आएको सचिव पदमा प्रशासन सेवातर्फ सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । यसैगरी प्राविधिकतर्फ थापाको अनिवार्य अवकाशसँगै रिक्त हुन आएको प्राविधिक सहसचिवमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव पुडासैनीलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ ।

निजामती सेवा ऐन २०५१ अनुसार कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता अन्तरगत २० प्रतिशतका आधारमा एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस हुने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव पुडासैनीको एकल नाम सिफारिस भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर